यती विमान दुर्घटना : दोस्रो दिन ६ शव निकालियो

तीनको अवस्था अझै अज्ञात



पोखरा।

यती एरको विमान दुर्घटनामा आइतबार ६ जनाको शव निकालिएको छ । शनिबार ६८ जनाको शव फेला पारेपनि ६३ जनाको मात्रै शव अस्पताल पु¥याइएको थियो । पाँच जनाको शव दुर्घटनास्थलमै रहेको थियो भने चार जनाको अवस्था अज्ञान थियो ।

दुर्घटनास्थलमा रहेको पाँच शवलाई आइतबार उद्धार गरी अस्पताल लगिएको थियो भने अज्ञात मध्ये एक शव पनि आइतबारै फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी अनिल कुमार शाहीले जानकारी दिए ।

काठमाडौंबाट शनिबार विहान १० बजेर ३२ मिनेटमा उडेको ९ एन–एएनसी, एटिआर ७२५०० वायुयान अवतरण गर्नेक्रममा पोखरामा दुर्घटनामा परेको हो । विमानमा चालक दलका ४ जना, ३७ जना पुरुष, २५ जना महिला ३ बालबालिका, ३ शिशु, ५ जना भारतीय, ४ जना रसियन, २ जना कोरियन, एक जना अर्जेन्टिनी, एक जना आइरिसियन र एक जना फ्रान्सेली नागरिक रहेका थिए । विमान १० बजेर ५० मिनेट जादाँ सेती खोँचमा खसेको हो ।

सनाखत भएका शवहरु

यो समाचार तयार पार्दासम्म पोखरा १३ काहुँडाँडाका २७ वर्षीय निशान्त आचार्य, पोखरा १७ हाल काठमाडौं वस्दै आएकी २३ वर्षिया संगीता शाही, पोखरा ४ का ३८ वर्षिय डा. शुशिल श्रेष्ठ, ३६ वर्षिया डा. सोना दिवाकर र उनका छोरा, पोखरा १३ मियाँपाटनका सदाकत अलिमिया, पोखरा १९ बाटुलेचौरका लक्ष्मी पौडेल, पोखरा २६ का पूर्ण कुमार गुरुङ, पोखरा ८ की एसमिन गुरुङ,पोखरा १० बुद्धचोकका पुजन राना, पोखरा ११ का त्रिभुवन पौडेल, पोखरा १७ छोरेपाटनकी जिवनकला गुरुङ, पोखरा ९ नागढुंगाका शालिकराम आचार्य, वन्दना सुनार, माछापुच्छे्र गाउँपालिका २ भुर्जुङखोलाकी सिता गुरुङ, पोखरा ८ वगालेटोलकी अनुसा गुरुङ, शिव कुमार गुरुङ, पोखरा ३ नदीपुरका राजु सिंह ठकुरी, पोखरा १ बगरका अनिल शाही, पर्वत कुश्माका १० महिने शिशु रियान पौडेल, कुश्मा कटुवाचौपारीकी बालिका प्रसिद्धि पौडेल, ४६ वर्षिय अरुण पौडेल, पर्वत मोदी १ का विजय कुमार गुरुङ, रचना काफ्ले पौडेल, पर्वत विहादीकी जमुना शर्मा, रक्की गुरुङ, रुपन्देही शंकरनगर ८ का डा.गणेश थापा, काठमाडौंका लक्ष्मी परियार, रिता परियार र हरि परियार, नवलपुर कावासोती ६ का मोहन प्रकाश श्रेष्ठ, बागलुङ वडिगाड ३ की निरा छन्त्याल, चालक दलका पाइलट कमल केसी इयर होस्टेज बुटवल मुर्गियाकी र्सिजना हुन्चिङ, कोरियन नागरिक यु क्युङहुल, रसियन नागरिक जुरिज ल्याजिन, एलना, फ्रान्सेली नागरिक एलेक्सजेन्डरको सनाखत भएको छ ।

परिचय पत्रका आधारमा सनाखत भएका शव पनि काठमाडौं लगिदैँ

विमान दुर्घटनामा परी ज्यान गुमाएको सनाखत भएका मध्ये परिचयपत्रको आधामा सनाखत गरिएका शवहरुसमेत काठमाडौं लगिने भएको छ । सोमबारसम्म परिवारले पहिचान गरेका शव बाहेक परिचयपत्रका आधारमा सनाखत भएकाको शव डिएनए परिक्षणका लागि काठमाडौं लगिने भएको हो ।

काठमाडौं शिक्षण अस्पतालका फरेन्सिक प्रमुखको नेतृत्वमा आएको विशेषज्ञ टोलीले पोखरामा छलफल पश्चात शवको वर्गीकरण गर्दै पोष्टमार्टम गर्ने कार्य सुरु गरिएको छ । अस्पताल स्रोतका अनुसार परियतपत्रबाट सनाखत भएपनि शतप्रतिशत हुन नसक्ने भन्दै डिएनए परिक्षणका लागि काठमाडौं लैजानुपर्ने अवस्था देखिएको हो ।

ब्लयाक बक्स नागरिक उड्ययन प्राधिकरणलाई हस्तान्तरण

पोखरामा दुर्घटना भएको यतीको ब्ल्याक बक्सको फेला परेको छ । उक्त बक्स नेपाली सेनाले नागरिक उड्ययन प्राधिकरणलाई हस्तान्तरण गरेको छ ।
नेपाली सेनाका सह सेनानी सरोज कोइरालाले नेपाल नागरिक उड्ययन प्राधिकरणका प्रबन्धक भरतराज पराजुलिलाई हस्तान्तरण गरेको हो ।

नेपाली सेनाको खोज तथा उद्धार टोलीले खोजको दौरान ब्ल्याक बक्सको ककपिट भ्वाइस रेकर्डर (सिभिआर) मोडेल नम्बर एफए २१००, पिएनआर २१००–४०४३–००, एसइआर ०००५९२७३२ र फ्लाइट डाटा रेकर्डर (एफडीआर) मोडल नम्बर एफए २१००, पिएनआर २१००–१०२०–०२, एसइआर ०००४९४५५८ फेला पारेको हो । उक्त बक्स हस्तान्तरण गर्नेक्रममा नेपाली सेनाका प्रमुख सेनानी सन्तोष चन्द, सशस्त्र प्रहरीका प्रहरी नायव उपरिक्षक विकास अर्याल, नेपाल प्रहरीका प्रहरी नायब उपरिक्षक प्रकाश दाहाल, सहायक प्रमुख जिल्ला अधिकारी अनिल कुमार शाही, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख विक्रम गौतम, राष्ट्रिय अनुसन्धान विभाग उप अनुसन्धान निर्देशक उत्तम खनाल, पोखरा महानगरपालिका वडा १५ का वडाअध्यक्ष तोरण बहादुर बानियाँ साक्षी रहेका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी अनिल कुमार शाहीले विहान ब्ल्याक बक्स फेला पारी सम्बन्धित निकायलाई हस्तान्तरण गरिएको सुनाए । उनले हालसम्म ६९ जनाको शव फेला परेको र तिन जनाको खोजी कार्य चलिरहेको समेत बताए ।

शाहीका अनुसार विदेशी, चालकदल, पहिचान नभएका शव काठमाडौं लैजाने तयारी भइरहेको समेत सुनाए । ‘६ जना विदेशीको पहिचान भएको छ । हराएको शव कस्को भन्ने यकिन छैन् । आज विहान हामीले ब्ल्याक बक्स प्राप्त गरेका छौं’ उनले भने, ‘पहिचान भएका शवको पोष्टमार्टम प्रक्रिया अघि बढेको छ ।विदेशी नागरिक, क्लु मेमबर र पहिचान नभएका शव बेलुकासम्म काठमाण्डौं लैजाने प्रयास भइरहेको छ ।’ शाहीका अनुसार आज नै फेला परेका सबै शव काठमाडौं लगिनेछ । उनले नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानका कर्मचारीहरुद्धारा खोजि कार्य भइरहेको उनले सुनाए ।

प्रतिक्रिया दिनुहोस्