बागमतीको उपसभामुखमा एमालेकी चापागाईं निर्वाचित



हेटौंडा । बागमती प्रदेशको उपसभामुखमा नेकपा एमालेकी उम्मेदवार अप्सरा चापागाईं निर्वाचित हुनुभएको छ ।
प्रदेशसभामा सोमबार साझँ सम्पन्न निर्वाचनमा सत्ता गठबन्धनबाट एमालेकी उम्मेदवार चापागाईं उपसभामुख निर्वाचित हुनुभएको हो । उहाँले ६१ मत प्राप्त गरेको प्रदेशसभा सभामुख भुवन पाठकले जानकारी दिनुभयो । उहाँले एमालेको २७, माओवादीको २१, राप्रपाको १२ र हाम्रो नेपाली पार्टीको २ मत प्राप्त गर्नुभयो ।

उपसभामुख चयनका लागि प्रदेशसभा बैठकमा भएको मतदानमा चापागाईं विपक्षमा ३९ मत परेको थियो भने ७ जना प्रदेश सदस्य तटस्थ बसेका थिए । चापागाईंलाई माओवादी सांसद कुमारी मोक्तान प्रस्तावक तथा आशा लामा समर्थक हुनुहुन्थ्यो ।

प्रदेशको उपसभामुख उम्मेदवार गीता काफ्लेले ३ मत पाउनुभयो । उहाँको विपक्षमा ६१ सांसदले मतदान गरे भने र तटस्थमा ४४ सांसद रहे । उहाँको प्रस्तावकमा सुरेन्द्रराज गोसाईं र समर्थकमा सृजना सैंजु हुनुहुन्थ्यो । कुल १ सय १० मध्ये मतदानका क्रममा १ सय ८ सांसद उपस्थित थिए । नेपाली कांग्रेसबाट उम्मेदवार सुना परियारको भने निर्वाचन भएन ।

उपसभामुखमा सत्ता गठबन्धनबाट एमालेकी चापागाईं, नेपाली कांग्रेसकी परियार र नेपाल मजदुर किसान पार्टीकी काफ्लेले मनोनयन दर्ता गराउनुभएको थियो । निर्वाचित चापागाईं ललितपुरबाट समानुपातिकमा निर्वाचित हुनुभएको हो । उपसभामुखमा निर्वाचित उहाँले आफूले पाएको मतको कदर गर्ने बताउनुभयो । नवनिर्वाचित उपसभामुख चापागाईँको शपथ मंगलबार हुने प्रदेशसभा सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो ।

२०७७ जेठमा बसेको मन्त्रिपरिषद् बैठकले डा.विष्णुराज उप्रेतीको संयोजकत्वमा नेपाल–भारत सीमासम्बन्धी प्रमाण संकलन कार्यका लागि गठन गरेको ‘विज्ञ समूह’ को सदस्यमा चापागाईँ पनि हुनुहुन्थ्यो ।

सामुदायिक बनकी अभियन्ता उहाँ सामुदायिक बन उपभोक्ता महासंघकी पूर्वअध्यक्ष र कफसन नेपालकी निवर्तमान अध्यक्ष हुनुहुन्छ । उहाँ एमालेकी प्रदेश सदस्य र कार्यालय सचिव हुनुहुन्छ । उहाँ हिमालयन नेपाल फाउण्डेसनकी उपाध्यक्ष पनि हुनुहुन्छ ।

सदनमा एस तटस्थ

सरकार गठनमा समर्थन गर्दै आफै सरकारमा सहभागी हुन इच्छा देखाइरहेको एकीकृत समाजवादीले सभामुख तथा उपसभामुखका लागि भने मत दिएन । शुक्रबार भएको सभामुखको निर्वाचनमा तटस्थ बसेको समाजवादी सोमबार उपसभामुखको निर्वाचनमा पनि तटस्थ बसेको हो ।

सरकारलाई समर्थन गर्नु र सदन जस्तो ऐन निर्माण गर्ने थलोलाई समर्थन गर्नुमा फरक विषय भएको बताउ“दै उपसभामुखको निर्वाचनमा पनि तटस्थ बसेको एकीकृत समाजवादीले उपसभामुखलाई पनि मत नदिएको उक्त दलका संसद् कृष्णप्रसाद शर्मा खनालले बताउनुभयो ।

‘सरकारलाई समर्थन गरेका हौँ । यसको अर्थ हरेक कुरामा समर्थन गर्नुपर्छ भन्ने होइन । तटस्थ बस्यौं,’ खनालले भन्नुभयो । मंगलबार मुख्यमन्त्री शालिकराम जमरकट्टेलले विश्वासको मत लिने कार्यक्रममा भने एकीकृत समाजवादी सहभागी भएर विश्वासको मत दिने उहाँले बताउनुभयो । मुख्यमन्त्री जमरकट्टेलले मंगलबार सदनबाट विश्वासको मत लिंदै हुनुहुन्छ । त्यसअघि सबै प्रक्रिया टुङ्गिनेछ ।

प्रतिक्रिया दिनुहोस्