विमान दुर्घटना: त्रिवि शिक्षण अस्पतालबाट दुई जना फरेन्सिक विज्ञ पोखरा पठाइयो



काठमाडौँ।

आइतबार विहान भएको यती एयरलायन्सको जहाज दुर्घटनामा परेका यात्रुको शव पहिचान तथा पोष्टमार्टमलाई सघाउन त्रिवि शिक्षण अस्पतालबाट दुई जना फरेन्सिक विज्ञ पोखरा पठाइएको छ ।

शिक्षण अस्पतालबाट फरेन्सिक विज्ञ डा. गोपाल चौधरी र डा. समारिका दाहाललाई पोखरा पठाइएको हो ।

एयर डाइनोस्टिक हेलिकप्टरबाट उनीहरुलाई पोखरा पठाइएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताए ।

त्यसो त पोष्टमार्टम तथा फरेन्सिक जाँचका लागि पोखरामै पाँच जना विज्ञहरु छन् । काठमाडौँबाट गएका थप विज्ञहरुले काममा सघाउने डा अधिकारीले बताए ।

अहिले सम्म दुर्घटनामा परेका ६९ जना यात्रुको शव फेला परेको छ । बाँकी तीन जना शिशु तथा बालबालिकाहरुको शव भेटिएको छैन् ।
डा अधिकारीले पहिचान भएका र त्यहिको स्थानीय यात्रुहरुको शवलाई पोखराबाटै पोष्टमार्टम गरी आफन्तलाई बुझाउने व्यवस्था भएको बताए । उनले चालक दलका सदस्य, विदेशी नागरिक तथा पहिचान नखुलेका अन्य यात्रुहरुको शव काठमाडौँ ल्याई त्रिवि शिक्षण अस्पतालबाट पोष्टमार्टम गरेर जिम्मा लगाइने तयारी भएको बताए ।

हिजोको दुर्घटना भएको जहाजमा २५ महिला, ३७ जना पुरुष, ३ जना शिशु, ३ जना बालक सहित ५३ जना नेपाली यात्रु, भारत सहित विभिन्न देशका गरी १५ जना विदेशी यात्रु र चार जना चालक दलका सदस्य गरी कुल ७२ जना सवार थिए ।

१२ वटा शव बहान तयारी अवस्थामा

यसैबीच पोखराबाट आउने शवलाई त्रिभुवन विमानस्थलबाट शिक्षण अस्पतालसम्म पुर्‍याउन १२ वटा शब वहान तयारी अवस्थामा राखिएको छ । अरु ८ वटा शव बहान आवश्यकताका आधारमा उपलव्ध हुने गरी सम्पर्कमा रहेको डा अधिकारीले बताए । पोखराबाट आउने शव संख्याको आधारमा शव वहान परिचालन गरिने व्यवस्था मिलाइएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्