कर्णालीमा आज मुख्यमन्त्रीको दाबी गर्दै



सुर्खेत।

कर्णाली प्रदेशको मुख्यमन्त्रीको लागि दाबी पेश गर्न प्रदेश प्रमुख तिलक परियारले दिएको समयसीमा बुधबार बेलुका ५ बजे सकिनै लाग्दा नेकपा माओवादी केन्द्र र नेकपा एमालेको बीच अहिले फेरि छलफल सुरु भएको छ ।

माओवादीका कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लका अनुसार अहिले दुई दल बीचमा छलफल सुरु भएको छ । छलफल मन्त्रालय बाँडफाँटको विषयमा केन्द्रीत छ । शीर्ष नेताहरुको बीचमा कर्णाली प्रदेशमा माओवादीलाई मुख्यमन्त्री दिने सहमतिअनुसार नै छलफल भएको छ । एमालेको तर्फबाट वार्ता तथा छलफल गर्नका लागि दलका नेता यमलाल कंडेललाई मंगलबार नै जिम्मेवारी दिइएको थियो ।

माओवादी स्रोतका अनुसार ४ बजेभित्र नै मुख्यमन्त्रीको दाबी प्रस्तुत गर्न गइसक्ने कार्ययोजना छ । माओवादी र एमालेका गरी २३ जना प्रदेशसभा सदस्यहरू छन् । सरकार बनाउनका लागि २१ जना प्रदेशसभा सदस्य भए पुग्ने अंकगणित  छ ।  एमालले कर्णालीमा आफूलाई आधा कार्यकाल चाहिने माग समेत गरेको छ । माओवादीबाट मुख्यमन्त्रीको उम्मेदवार राजकुमार शर्मा छन्  । उनी माओवादीबाट संसदीय दलको नेता हुन् । एमालेबाट कंडेल दलको नेता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्