विपक्षमा २ सांसद



काठमाडौं । 

संसद्मा सहभागी १२ मध्ये १० दलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएपछि प्रतिनिधिसभामा वैधानिक प्रतिपक्षका रूपमा नेमकिपा र राजमो मात्रै बाँकी रहेका छन् । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पार्टीभित्रै असन्तुष्टिका बीच प्रधानमन्त्री ‘प्रचण्ड’लाई विश्वासको दिएको छ ।

कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेताहरू अर्जुननरसिंह केसी, प्रकाशमान सिंह र प्रदीप पौडेलले विश्वासको मत दिन नहुने पक्षमा फरक मत राखेका थिए । प्रचण्ड १० पुसमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति र तीन जना स्वतन्त्र सांसद गरी १६९ सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त हुनुभएको थियो ।

प्रधानमन्त्रीमा समर्थन नगर्ने र सात दलीय नयाँ गठबन्धन भत्काउने प्रयासमा रहेका दलहरूले समेत विश्वासको मत दिएपछि अब संसद्मा एक-एक सिट रहेको नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र राष्ट्रिय जनमोर्चा मात्रै प्रचण्डको विपक्षमा उभिन बाध्य भए ।

नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी सांसद छन् । उनीहरूले संसदीय व्यवस्थामा जनताका आवाज उठाउने बलियो प्रतिपक्ष अनिवार्य हुनुपर्ने भए पनि सबै दलहरूले सरकारलाई समर्थन गरेर जनभावनाको बर्खिलाप गरेको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्