सरकार निर्माण सानो देखिए पनि खुसी ठूलो : ओली



 भक्तपुर ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाह्य शक्तिको इच्छाविपरीत नेपालीले आफैंले नयाँ सरकार गठन गरेको बताउनुभएको छ ।

डोलेश्वरमा आयोजित नेपाल मार्बल व्यापार संघ नेपालको दशौं अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अहिले नेपाली आफैंले सरकार बनाएको देखेर बाह्य शक्तिहरू आत्तिएको र खाईनखाई सरकारलाई गर्भमै तुहाउन दौडधुप गरिरहेको बताउनुभयो ।

देशमा बलजफ्ती रूपमा अस्थिरता थोपरिएको भन्दै उहाँले सधैं सरकार बनाउने र ढाल्ने खेलमा नेपाली अल्झिराखून् भन्नेले को ठूलो दलाल पाइन्छ भनेर खोजिरहेको बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो– ‘अस्थिरता फेरि फर्काउन खोज्ने, स्थिरता हुनै नदिने, राजनीतिक अस्थिरताका बीच भएको स्वाभिमानी सरकार निर्माण सानो देखिए पनि ठूलो खुसीको कुरा हो ।’

सरकार बन्न पाएको छैन विश्वासको मत लिन नदिने र दलहरूलाई दलाल बनाउने खेल बाह्य शक्तिले खेलिरहेको उहाँको भनाइ थियो । कसको सरकार बन्यो को प्रधानमन्त्री भएर के मतलब भन्नु उपयुक्त होइन भन्दै उहाँले नेपालीले आफ्नो सरकार आफैं बनाउने कि अर्काले बनाइदिने भन्ने कुरा महत्वपूर्ण भएको बताउनुभयो ।

‘नेपालको विकासमा चासो नहुने बाह्य शक्तिलाई राजनीतिमा चासो किन ?’ –उहाँले प्रश्न गर्नुभयो । उहाँले मार्बल व्यापारलगायत सबै व्यवसायीका समस्या समाधान गर्न सरकारले न्यूनतम साझा कार्यक्रममार्फत नै कदम अघि बढाउने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले व्यवसायीका समस्या समाधानमा आफूले विगतदेखि नै सहयोग गर्दे आएको बताउँदै कानुन निर्माणमार्फत समस्या समाधानमा ध्यान दिने बताउनुभयो ।

वागमती प्रदेश सभा सदस्य किरण थापाले देश र उद्योगी दुवैको हित हुने गरी कानुन निर्माणमा जोड दिनुभयो ।कार्यक्रममा संघका अध्यक्ष लक्ष्मी संग्रौला, पूर्वअध्यक्ष ओम प्रकाश गोयल, नेपाल निर्माण सामग्री व्यापार संघ काठमाडौंका अध्यक्ष अच्युत केसी कटुवालले व्यवसायीमाथि सरकारले थिचोमिचो गरिरहेको गुनासो गर्नुभयो ।

‘स्वदेशी खनिज स्वदेशी हात समृद्ध नेपाल सरकारको साथ’ भन्ने नाराका साथ शुरू भएको अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्