सात वर्षपछि प्रचण्ड–बाबुराम मिलनको तयारी



काठमाडौं । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहा (प्रचण्ड) र नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा बाबुराम भट्टराईबीच पार्टी एकताको तयारी भएको छ ।

प्रचण्ड र डा. भट्टराई ७ वर्षपछि फेरि एउटै पार्टीमा हुने तयारीमा जुटेका हुन् ।शनिबार प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेसपाका अध्यक्ष भट्टराईबीच बालुवाटारमा भेट भएको थियो । त्यो भेटमा दुई पार्टीको एकता छिटो टुंग्याउने र समाजवादी कार्यक्रम मान्ने पार्टीहरू सहकार्य गर्न लुज फोरम बनाउने सहमति भएको छलफलमा सहभागी नेताहरूले बताएका छन् । यो भेटलगत्तै बसेको माओवादी केन्द्रीय कार्यालयको बैठकले बृहत् वाम एकताको पहलका लागि भन्दै उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा वार्ता टोली बनाएको छ ।

पाँच सदस्यीय वार्ता टोलीमा महासचिव देव गुरुङ र उपमहासचिवहरू गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्ति बस्नेत सदस्य छन् । नेसपाले भने भोलि राजनीतिक समितिको बैठक बोलाएको छ । यो बैठकले पार्टी एकतासम्बन्धी वार्ताका लागि टोली बनाउनेछ । नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठले भन्नुभयो– ‘दुवै पार्टीको वार्ता टोलीले पार्टी एकताका सबै विषयमा छलफल गरेर टुंगो लगाउँछ ।’

भट्टराईले २०७२ सालको ९ असोजमा माओवादी परित्यागको घोषणा गरेर बाहिरिनुभएको थियो । आफ्नै नेतृत्वमा नयाँ शक्ति पार्टी बनाएका भट्टराई पछिल्लो समय नेपाल समाजवादी पार्टी (नेसपा) को अध्यक्ष हुनुहुन्छ । उहाँ यो बीचमा जनता समाजवादी पार्टीसँग एकता गरेर केही समय बसे पनि पछिल्लो ६ महिनायता जसपासँगसमेत भिन्न हुनुभएको थियो । नेसपाले ४ मंसिरको प्रतिनिधिसभा चुनाव माओवादी केन्द्रकै चुनाव चिह्नबाट लडेको थियो । त्यस बेलामा भएको सहमतिअनुसार नै पार्टी एकता प्रक्रिया अघि बढाउन लागिएको नेताहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्