‘अवसर केन्द्रित बहुरङ्गी गठबन्धनको आयु छोटो छ’ : नेपाली कांग्रेस



काठमाडौं  ।

वर्तमान सत्ता गठबन्धनलाई अवसर केन्द्रित बहुरङ्गी गठबन्धनको संज्ञा दिँदै नेपाली कांग्रेसले सत्ता गठबन्धनको आयु छोटो भएको जनाएको छ । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बुधबार पत्रकार सम्मेलन गर्दै कांग्रेसको यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

उहाँले भन्नुभयो– ‘राजतन्त्र चाहिनेदेखि गणतन्त्रको विकल्प छैन भन्ने र संघीयताका पक्षपातिदेखि संघीयता विरोधीहरूसमेत संलग्न बहुरङ्गी गठबन्धन लामो समयसम्म जाँदैन ।’विभिन्न रूपका दलहरू एकठाउँ भएर सत्ता बाँडचुँडमा झगडा गर्न थालेको टिप्पणी गर्दै उहाँले भन्नुभयो– ‘विचारमा एकरूपता छैन, दृष्टिकोणमा मिलन छैन, नितान्त शक्ति आर्जन गर्नकै लागि बनाइएको यो गठबन्धनको आयु छोटिनसक्ने देखेका छौं ।’

उहाँले कांग्रेसले नेतृत्व गरेको गठबन्धन भत्किनमा नेपाल कम्युनिस्ट पार्टी माओवादीका अध्यक्ष प्रचण्डकै मुख्य भूमिका रहेकोे बताउनुभयो । संसद्को सबैभन्दा ठूलो दल भएकाले स्वाभाविक रूपमा कांग्रेसले नेतृत्वको दाबी गरेको भन्दै उहाँले गठबन्धन बचाउने विषयमा प्रचण्डले विकल्पको समय नै नराखी गठबन्धन तोडेर गएको आरोप लगाउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै डा. महतले ‘नो नट अगेन’को नारा लिएर आएको नयाँ दलसमेत कसरी ठूलो पद प्राप्त गर्न सकिन्छ भनेर बार्गेनिङ गरिरहेको टिप्पणी पनि गर्नुभयो । यो घटनाले जनमतको आधारमा ठूलो दलले राज्य सत्ताको नेतृत्व लिने विषय गौण बनेको भन्दै उहाँले यो राष्ट्रिय बहसको विषय बनेको बताउनुभयो ।

कांग्रेसले प्रतिपक्षमा बसेर राष्ट्रियता, सुशासन र जनजीविकाका सवालमा कुरा उठाउने जिकिर गर्दै उहाँले भन्नुभयो– ‘गठबन्धन लामो समय कायमै राखेर देशको समग्र अवस्था सुधारमा खर्चने भनिए पनि प्रचण्डका कारण गठबन्धन टुटेको छ । यसले जनतामा निराशा छाएको देखिए पनि जनताका अपेक्षालाई सम्बोधन गर्दै आगामी निर्वाचनमा कांग्रेस एक्लैले बहुमत ल्याउनेगरी संगठन निर्माणका काम गर्नेछ । सभापतिले भ्रातृसंगठनहरूलाई पूर्णता दिएर संगठन निर्माणमा लाग्न निर्देशन दिइसक्नुभएको छ ।’

हातमा रहेको सत्ता गुमेपछि आन्तरिक झमेलामा फसेको कांग्रेसभित्रको टीका टिप्पणीका सन्दर्भमा डा. महतले यस विषयमा पार्टीको बैठकमा व्यापक छलफल हुने जानकारी दिँदै भन्नुभयो– ‘अहिलेको परिवेशमा गठबन्धन जोगाएर तीनै तहको चुनाव सम्पन्न गरेकाले कांग्रेसकै नेतृत्व सरकार बन्नुपर्ने आवश्यक ठानेका थियौं ।

तर, पार्टी सभापति शेरबहादुर देउवाको ठाउँमा अर्को कोही भए गठबन्धन बँच्थ्यो भन्ने कुरा गलत हो । नेतृत्वले बोलाएन भन्ने कुरा गैर जिम्मेवारी कुरा हो ।’गठबन्धन भत्काउन गरिएका प्रयासका सन्दर्भमा पार्टीका पदाधिकारीहरू र जिम्मेवार साथीहरूले प्राप्त गरेका सूचना दिनुपर्ने उहाँहरूको कर्तव्य रहेको महतले बताउनुभयो । नीति अधिवेशन गर्ने विषयमा कसैले माग गरिरहनु नपर्ने भन्दै उहाँले पार्टीको निर्णयअनुसार केन्द्रीय समितिको बैठकपछि नीति अधिवेशन हुने बताउनुभयो ।

महामन्त्रीहरूप्रति लक्षित गर्दै उहाँले पार्टीका जिम्मेवार साथीहरू आफैं निर्णय कार्यान्वयन तहमा रहेकाले विज्ञप्ति लेख्ने र माग गर्नेभन्दा पनि कार्यान्वयन गर्नतिर लाग्नुपर्ने टिप्पणी गर्नुभयो ।यसैबीच कांग्रेसले निर्वाचन समीक्षा र नयाँ सत्ता समीकरणलगायतका विषयमा पुष २२ गते बोलाइएको केन्द्रीय समितिको बैठक पुष २८ गतेका लागि सारेको छ । पुस २५ गते संसद्को पहिलो बैठकलाई मध्यनजर गर्दै पार्टीको बैठक सारिएको बताइएको छ । साथै कांग्रेसले प्रतिनिधि सभाको पहिलो बैठकको तयारी लागि २३ गते पार्टीको संसदीय दलको बैठक बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस्