थापाथलीको सुकुम्बासी बस्ती हटाउन गृहलाई कामपाको पत्र



काठमाडौं । 

काठमाडौं महानगरपालिकाले थापाथलीस्थित वागमती किनारमा बस्दै आएका सुकुम्बासीहरूलाई हटाउन गृह मन्त्रालयसँग सहयोग मागेको छ ।

प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले बुधबार गृह मन्त्रालयलाई पत्र पठाएर समन्वय गर्न अनुरोध गर्नुभएको हो । यसअघि बिनातयारी बस्ती खाली गर्न पुग्दा महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेसहित ३६ जना घाइते भएका थिए ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई बोधार्थ गरिएको उक्त पत्रमा भनिएको छ– ‘अतिक्रमण गरी निर्माण भएका अनधिकृत संरचनाहरू हटाउने कार्य अभियानकै रूपमा अगाडि बढाउनुपर्ने देखिन्छ । जसको लागि त्यहाँमार्फत सम्बन्धित जिल्ला प्रशासन तथा सुरक्षा निकायलाई आवश्यक निर्देशन एवं समन्वय गरिदिन हुन अनुरोध गरिन्छ ।’

वागमती सभ्यता एकीकृत विकास परियोजनाको अनुरोधमा त्यहाँको बस्ती हटाउन प्रयास गरिए पनि सफल नभएको उल्लेख गर्दै पत्रमा भनिएको छ–‘यसअघि महानगरबाट आवश्यक सबै समन्वय र प्रयास अगाडि बढाएको भए तापनि सफल हुन नसकेको अवस्थामा तत्काल पहल गरिदिनुहुन अनुरोध गर्दछौं ।’कामपाका प्रहरी प्रमुख पाण्डेले वस्ती हटाउन गृह मन्त्रालयलाई आग्रह गरेको जानकारी दिनुभयो । यसअघि स्थानीयले बस्ती हटाउन आग्रह गर्दै गृह सचिव विनोद सिंहलाई ज्ञापनपत्र बुझाएका थिए ।

अनधिकृत बस्ती हटाएर सौन्दर्यीकरणको काम तत्काल शुरू गर्नुपर्ने भएकाले संरचना हटाउन आवश्यक सहयोग एवं समन्वयका लागि गृह मन्त्रालयको सहयोगका लागि पत्राचार गरिएको कामपको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्