पूर्वराजा ज्ञानेन्द्र चितवनमा राजनीतिक भेटमा व्यस्त



काठमाडौं । 

क्रिसमसको पूर्वसन्ध्यामा चितवन पुगेका पूर्व राजा ज्ञानेन्द्र शाहका परिवारले अंग्रेजी नयाँ वर्ष चितवनमै मनाउने निश्चय भएको छ ।जगतपुरमा खुल्न लागेको पाँचतारे होटल सोल्टीमा नयाँ वर्ष मनाउने योजनासहित उहाँ सपरिवार चितवन पुग्नुभएको हो । बिहीबार पूर्व राजा ज्ञानेन्द्रका भाइ धिरेन्द्रका तीन छोरी पूजा, दिलासा र सिताष्मा पनि चितवन पुग्नुभएको छ ।

करिब एक सातादेखि चितवनमा रहेका ज्ञानेन्द्रले राजनीतिक भेटघाट गर्नुभएको बुझिएको छ । राजासहितको प्रजातन्त्र खोजिरहेको राप्रपाका केही नेताले पूर्वराजा ज्ञानेन्द्रसँग सरकारमा जाने वा नजाने विषयमा छलफल गरेको स्रोतको भनाइ छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसँग राजनीतिक रूपमा नजिक रहनुभएका पूर्वराजा ज्ञानेन्द्रले आफ्नो एजेन्डा स्थापित गराउन पहल गरिरहनुभएको छ ।

गएको मंसिर ६ गते पूर्वरानी कोमल र छोरी प्रेरणा, निजी सचिव डा. सागर तिमल्सिनासहित झापा पुगेका ज्ञानेन्द्रले झापा बस्दा पनि राजनीतिक भेटघाट गर्नुभएको थियो । झापाबाट जनकपुर हुँदै चितवन पुगेका ज्ञानेन्द्र परिवार अंग्रेजी नयाँ वर्ष मनाएलगत्तै पुष २१ गते सिमरा जाने कार्यक्रम तय भएको स्रोतले नेपाल समाचारपत्रलाई बतायो । सिमरामा केही दिनको बसाइपछि पुस २८ मा पूर्व राजा ज्ञानेन्द्र फेरि झापा पुग्ने कार्यक्रम छ ।

उहाँ झापा, चितवन र सिमराका साथै तराईका केही जिल्ला हुँदै फागुन पहिलो साता काठमाडाै‌ं आउने कार्यक्रम रहेको बताइएको छ ।प्रायः जाडो छल्न तराई भ्रमणमा निस्कने गर्नुभएका पूर्वराजा ज्ञानेन्द्रले ती जिल्लामा राजनीतिक भेटघाट गर्ने गर्नुभएको छ । गत उच्चस्रोतका अनुसार जनकपुरमा पनि केही भेटघाटका कार्यक्रम तय भएको छ । दुईवर्ष अघि झापा भ्रमणको क्रममा ज्ञानेन्द्र र कोमल भारतको सिलगुढी पनि पुग्नुभएको थियो । यसपटकको झापा, जनकपुर, सिमरा, चितवनलगायत तराईका केही जिल्लामा पूर्व राजा ज्ञानेन्द्र शाहको निजी भ्रमण भनिए तापनि उहाँले गोप्य राजनीतिक भेटघाटलाई मुख्य एजेन्डा बनाउनुभएको स्रोतका दाबी छ ।

प्रतिक्रिया दिनुहोस्