सुरक्षाकर्मीलाई नेतासँगको भेटमा रोक

भेटका लागि अनुमति आवश्यक



काठमाडौं । 

सुरक्षा निकायका जवानदेखि वरिष्ठ अधिकृतसम्म सरुवा र बढुवाका लागि नेताका घरमा धाउन थालेपछि गृह मन्त्रालयले बिहीबार सुरक्षा निकायका व्यक्तिहरूलाई कूटनीतिक नियोगका प्रमुख तथा राजनीतिक दलका नेताहरूसँगको भेटमा रोक लगाएको छ ।

उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेले सुरक्षा निकायका उच्च तहका अधिकृतहरूले कूटनीतिक नियोगका प्रमुख तथा राजनीतिक दलका नेतासँग भेट गर्नुपर्ने अवस्था आए मन्त्रालयबाट अनुमति लिएर मात्र भेट गर्न निर्देशन दिनुभएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत उच्च तहका अधिकृतहरूले सरुवा र बढुवाका लागि नेताको घर घर धाउने र नेतालाई प्रभावमा पारेर आफू अनुकूल ठाउँमा सरुवा हुने, वरीयता मिचेर बढुवा हुनेजस्ता काम गर्दै आएका कारण मन्त्रालयले सुरक्षा निकायका व्यक्तिहरूलाई व्यक्तिगत भेटघाटमा रोक लगाएको बताइएको छ ।

मन्त्रालयले तीनवटै सुरक्षा निकायका प्रमुखहरूलाई समन्वयको जिम्मेवारी दिएको छ ।मन्त्रालयले दिएको निर्देशनलाई पालना नगरेको पाइएमा कारबाहीको भागिदार हुनुपर्ने पनि मन्त्रालयका प्रवक्ता फडिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो ।

निर्वतमान प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा सुरक्षा निकायमाथि ठाडो हस्तक्षेप भएको थियो । सरुवा बढुवामा ठूलो चलखेल भएको भन्दै सुरक्षा निकायका अधिकारीहरूले तीव्र आक्रोश व्यक्त गरेका थिए । उहाँले नेपाल प्रहरीको चेन अफ कमान्डमाथि नै धावा बोलेर आफू अनुकूलका सुरक्षा अधिकारीको सरुवा र बढुवा गर्नुभएको थियो ।

यसैबीच उपप्रधान तथा गृहमन्त्री लामिछाने हिन्दु परम्पराअनुसार पूजापाठ गरी बिहीबार सरकारी निवास सर्नुभएको छ । उहाँले निवास प्रवेश गर्दा दिईने सलामीमा पिर्काको प्रयोग नगरी भुइँमा नै सलामी ग्रहण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्