ओली भेट्न आए कार्पेट ओच्छ्याएर स्वागत गर्थें : नेपाल



काठमाडौं ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आफूलाई भेट्न आए कार्पेट ओच्छ्याएर स्वागत गर्ने बताउनुभएको छ ।

बिहीबार पार्टी जनवर्गीय संगठनका प्रतिनिधिसँगको छलफलमा अध्यक्ष नेपालले केपी ओलीले आफूलाई भेट्न खोज्दा आफूले अस्वीकार गरेको भन्ने कुरा सत्य नभएको जिकिर गर्दै भन्नुभयो– ‘केपी ओली मेरो घरमा आउन खोज्दा मैले अस्वीकार गरेको भन्ने कुरा आएको छ । कुरा त्यसो होइन, उहाँ आए म कार्पेट ओच्छ्याएर स्वागत गर्थें ।’

आफूलाई राष्ट्रपति पदसँग जोडेर आएका पछिल्ला समाचारमा कुनै सत्यता नरहेको पनि उहाँले बताउनुभयो । कांग्रेससँगको गठबन्धन छोडेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेसँगै एमालेले आफूलाई राष्ट्रपति बनाउन खोजेको भनेर चलेका हल्ला र आएका समाचारमा सत्यता नभएको नेपालले प्रष्ट पार्नुभयो ।

यद्यपि, आफू कम्युनिस्ट एकताको विपक्षमा नरहेको र त्यसका लागि दुवै पक्ष तयार हुन जरुरी रहेकोमा जोड दिँदै उहाँले भन्नुभयो– ‘त्यसका लागि दुवै पक्ष तयार हुनुपर्छ । अब पुरानै कुरामा अलमलिन पनि ठिक हुँदैन ।’ उहाँले सरकारले विश्वासको मत लिएपछि सरकारमा जाने नजानेबारे पार्टीले निर्णय गर्ने बताउँदै बदलिँदो राजनीतिक समीकरण र कांग्रेसको हातबाट वामपन्थीको हातमा सत्ता आउनु सकारात्मक भएको बताउनुभयो ।

एमालेसँगको विद्रोहदेखि आम निर्वाचनसम्म भएका घटनाक्रम र वर्तमान मन्त्रीमण्डल विस्तार र शक्ति बाँडफाँटबारे भएका छलफलमा आफ्नो पार्टी सहभागी नभएको स्पष्टीकरण दिँदै नेपालले भन्नुभयो– ‘मन्त्रीमण्डल विस्तार र मन्त्रालय बाँडफाँटबारे हामीलाई कुनै जानकारी छैन ।’ वाम एकताबारे पहिलेदेखि नै प्रयास भइरहेको र पछिल्लो समय स्वयं राष्ट्रपतिको पनि चिन्ता चासो रहेकाले आफू वाम एकताका लागि सकारात्मक रहेको बताउँदै नयाँ शिराबाट जान आफूहरू तयार रहेको अध्यक्ष नेपालको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्