बेवारिसेको उद्धारमा तानसेनको चासो



पाल्पा । 

बेवारिसे मानवरहित शहर बनाउने लक्ष्यका साथ तानसेन नगरपालिकाले सडकमा आश्रय लिँदै आएका बेवारिसे मानिसको उद्धार गर्न शुरू गरेको छ ।
टोलीले व्यक्तिगत, पारिवारिक, सामाजिकलगायत विभिन्न कारणले वर्षौंदेखि सडकको आश्रय लिँदै आएका उनीहरूको उद्धार गरी नील सागर वृद्धा आश्रमको जिम्मा लगाइएको हो ।

वर्षौंदेखि सडकको आश्रय लिन बाध्य ४ जना बेवारिसेलाई नगरपालिकाले उद्वार गरिसकेको छ । जिल्लाको तानसेन बजार र आसपासका सडकमा अलपत्र ४ जना बेवारिसे सडक मानवलाई तानसेन नगरपालिकाका प्रवक्ता यादवसिंह कार्की, नीलसागर वृद्धा आश्रमका सदस्य प्रकाश नाथ गोंगल र नगर प्रहरीको समन्वयमा आइतबार उद्धार गरी व्यवस्थापन गरिएको हो ।

पछिल्लो समय तानसेन नगरपालिका पालिकाले सडकमा बेवारिसे बालबालिका र जुनसुकै उमेर समूहका मान्छे देख्न नपर्ने अभियान अनुसार तानसेनका सडकर्मा आश्रय दिँदै आएकाहरुलाई उद्धार गरी व्यवस्थापन अभियान शुरू गरिएको प्रवक्ता कार्कीले बताउनुभयो ।

हाँका अनुसार बेवारिसे मानवरहित शहर बनाउने नगर सरकारको योजना सफल पार्न आश्रमको समन्वयमा सडक आश्रितहरुको उद्धार थालिएको हो । आश्रममा राखिएकाहरुलाई नगरपालिकाले नीति तथा कार्यक्रममार्फत भरण–पोषण तथा बिरामी भएमा औषधि उपचारको व्यवस्था मिलाइनेछ ।

विभिन्न कारणले बेवारिसे भई खुला सडकको आश्रय लिन बाध्य जनताको उद्धार गरी व्यवस्थापन गर्दै बेवारिसे मानवमुक्त सडक बनाउने उद्देश्यले नगर सरकारले अभियान थालेको तानसेन नगरपालिका प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो । नगरपालिकाले कुनै पनि बेवारिसे मानिसले अबदेखि सडकको आश्रय लिनु नपर्ने गरी अभियानलाई तीव्रता दिने उहाँको भनाइ छ ।

‘स्थानीय सरकार जनताको सेवक हो, त्यसैले अब सडकमा कोही, बेवारिसे, देखिने छैनन् । सबै सडक बेवारिसे मानवमुक्त हुनेछन्, त्यसका लागि स्थानीय सरकारले अभियान थालेको हो ।’ –प्रमुख श्रेष्ठले भन्नुभयो । पर्यटकीय नगर तानसेनको सुन्दरतासँग पनि यसको सम्बन्ध जोडिएकाले बेवारिसे सडक मानिसको व्यवस्थापनले तानसेन सुन्दरतालाई यसले असर पु-याउनु हुँदैन ।

सडकमा बस्दै आएकाहरुलाई उद्धार गरी अभिभावकको जिम्मा लगाएर पारिवारिक पुनर्मिलन गराउने तथा अभिभावकविहीन भए खाना, नाना र छानाको व्यवस्था मिलाउने भन्दै उहाँले बिरामी भएमा औषधिउपचार गर्ने स्थानीय सरकारले गर्ने पनि प्रमुख श्रेष्ठले बताउनुभयो । त्यसका लागि नील सागर सेवा आश्रम तानसेनलाई जिम्मेवारी दिइएको उहाँले बताउनुभयो ।

हालसम्म आश्रममा २० जना सडक आश्रित रहेको आश्रम सदस्य प्रकाशनाथ गोंगलले बताउनुभयो । स्थानीय सरकारसँगको सहकार्यमा बेवारिसेलाई सडकबाट उद्धार गर्दै आश्रममा ल्याएर व्यवस्थापन गर्न थालिएको उहाँको भनाइ छ । यसअघि पालिकाले सडकमा छाडिएका पशुचौपायाको पनि व्यवस्थापन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्