कानुनी उपचार कमजोर बन्दा रोकिएन बालविवाह



कालिकोट

बालविवाह न्यूनीकरण गर्नका लागि बनेका ऐन, कानुन प्रभावकारीरूपमा कार्यान्वयन नहुुँदा बालविवाहको अन्त्य हुन सकेको छैन । महवै गाउँपालिकाको केन्द्र पद्मघाटमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरूले यस्तो बताएका हुन् । बालविवाह विरुद्ध साझा अभियान कालिकोटको सो कार्यक्रम गरेको थियो ।

कार्यक्रममा महावै गाउँपालिका–१ का अध्यक्ष नरेन्द्र शाहीले समाजमा अहिलेसम्म पनि बालविवाह अन्त्य हुन नसकेको बताउनुभएको छ । ‘बालविवाह गर्र्ने÷गराउनेले बाल अधिकार, महिला अधिकार, मानव अधिकार र कानुनी शासनको समेत धज्जी उडाएका छन्’, उहाँ भन्नुहुन्छ– ‘बालविवाहबाट बालबालिका पढ्न पाउने, स्वेच्छिक रूपमा विवाह गर्न पाउने र सम्मानपूर्वक बाँच्न पाउने हकबाट समेत वञ्चित हुने भएकाले यसको अन्त्य नै गर्नुपर्छ ।’
कालिकोट जिल्लामा धार्मिक अन्धविश्वास र परम्पराका, बेरोजगारी, आर्थिक अभाव र धेरै सन्तान भएका कारण बाध्यताले पनि वालविवाह जस्ता गैरकानुनी कार्यले प्रश्रय पाइरहेको देखिन्छ ।

गाउँस्तरका नागरिकले बालविवाहबाट वैवाहिक जीवनमा पर्नसक्ने असर, बालिकाको प्रजनन स्वास्थ्यमा पर्नसक्ने गम्भीर खतरा, बाल अधिकार, कानुनी बन्देजहरुका बारेमा राम्ररी जानकारी नपाएका कारण पनि बालविवाहले निरन्तरता पाइरहेको वडा नम्बर २ का वडाध्यक्ष हर्कबहादुर सिंह बताउनुहुन्छ । आफ्नो वडा र सिंगो गाउँपालिकालाई नै बालविवाहमुक्त गराउन रणनीतिक योजना बनाएर अभियानमा लाग्ने प्रतिबद्धता उहाँले कार्यक्रममा जनाउनुभएको थियो ।

त्यसै गरी, कालिकोटका प्रहरी प्रमुख डीएसपी जयश्वर रिमालले बालविवाह सामाजिक तथा परम्परागत कूरीति भएकाले यसको अन्त्य गर्नका लागि जनचेतनामूलक कार्यक्रम गरी, अभिभावकलाई यौन तथा प्रजनन शिक्षासम्बन्धी तालिम दिनुपर्ने तथा बालबालिकालाई पनि सानै उमेरमा बालविवाह गर्नुहुन्न भन्ने मानसिकताको विकास गराउनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । बालविवाहका बारेमा सकभर कसैले उजुरी नै नगर्ने, कसैले गरिहाले पनि आफ्न्त भनेर ढाकछोप गर्ने चलन उहाँ विद्यमान रहेको छ ।

नेपालको संविधानको धारा ३९ को उपधारा ५ ले कुनै पनि बालबालिकाको हक स्थापित गर्नुका साथै २० वर्षभन्दा कम उमेरमा गरिने विवाह कानुनतः दण्डनीय र गैरकानुनी हुने भएकाले बदर हुने व्यवस्था गरिएको छ । यस्तै कसुर गर्ने व्यक्तिलाई एक वर्ष कैद र १० हजार जरिवाना हुनसक्ने भनिए पनि कालीकोटमा प्रभावकारी कार्यान्वयन हुन सकिरहेको छैन ।कार्यक्रममा पालिकाका वडाध्यक्ष, कार्यपालिका सदस्य तथा जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्