बर्दियामा जंगली हात्ती आतंक, घर भत्काउन थालेपछि स्थानीय त्रसित



बर्दिया ।

बर्दियामा जंगली हात्तीले गाउँ पसेर घर भत्काउन थालेपछि स्थानीय जनता त्रसित भएका छन् । बुधबार राति जंगली हात्तीले ठाकुरबाबा नगरपालिका वडा नम्बर ६ स्थित तुल्सीपुर र मोतिपुरबस्तिमा केही घर भत्काएको छ ।

मोतिपुर बस्तीमा छिरेको एक हात्तीले घर भत्काई घरभित्र राखेको अन्नसमेत सबै खाएर बिजोग बनाएको स्थानीय ज‌ंगबहादुर सुनारले बताएका छन्  । “हात्तीले घर भत्काउन थालेपछि बालबालिकासहित एकसरो लुगामै भागेर ज्यान जोगाउन सकेका छौँ”, उनले भने, “घर पूरै क्षतिग्रस्त बनाइदिएपछि छिमेकीको शरणमा बस्न बाध्य भएका छौं ।” अन्न, लत्ताकपडा र खाना बनाउन प्रयोग हुने भाँडाकुँडासमेत हात्तीले कामै नलाग्ने बनाएको उनको भनाइ छ ।

वडाध्यक्ष जय प्रसाद पौडेले हात्तीले क्षतिग्रस्त बनाउनुका साथै घरभित्र राखेको सबै सामान खुट्टाले कुल्चेर क्षति पु-याएको बताएका छन् । हात्तीले क्षेति गरे अनुसारकाे नगरपालिकाले क्षेतिपूर्तीकाे व्यवस्था गरिने अध्यक्ष पाैडेलले बताएका छन्  ।

हात्ती साँझ नपर्दै बस्तीमा छिर्ने भएकाले रातभर जाग्राम बसेर भगाउँदै आएको स्थानीयले बताएका छन् । बर्दिया राष्ट्रिय निकुञ्जबाट बाघ, हात्ती आहार विहारका लागि ओहोर-दोहोर गरिरहेका हुन्छन्। गत आवमा दुई जना हात्तीको आक्रमणबाट मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्