रातो मच्छिन्द्रनाथको परम्परा बन्द गर्ने निर्णय



ललितपुर । श्री ह्यगृव भैरवनाथ तथा ३२ पानेजु संघ बुंङ्मतीले रातो मच्छिन्द्रनाथसंग जोडिएको परम्परा बन्द गर्ने निर्णय गरिएकोमा गुठी संस्थान ललितपुरको ध्यान गएको छ ।

कीर्तिपुर नगरपालिका–२ स्थित प्यंगःथांमा गएर हरेक वर्ष रातो मच्छिन्द्रनाथको पुजारी पुगेर प्रसाद ग्रहण गर्ने र गराउने कार्य बन्द गर्ने संघको निर्णयप्रति संस्थानको ध्यान आकृष्ट भएको हो ।

रातो मच्छिन्द्रनाथको प्रतिमूर्ति र शक्ति स्वरुपा कन्या कुमारीको (याकः मिसा) मूर्ति कीतिपुर नगरपालिका–२ स्थित प्यंगःथांमामा स्थापना गरिएको विरोधमा ३२ पानेजु संघले आपत्ति जनाउँदै सो निर्णय गरेको थियो । संघले पुस ३ गते आईतबार विज्ञप्ती प्रकाशित गरी सो निर्णयको बारे सार्वजनिक गराइएको थियो ।

संघका अध्यक्ष यज्ञरत्न शाक्यले हस्ताक्षर गरी जारी विज्ञप्तीमा भनिएको छ ‘सम्बन्धित निकायको लिखित सहमति बेगर जबरजस्ती प्रतिमूर्ति स्थापना गरी जिवित सम्पदामाथि प्रत्यक्ष प्रहार गरेको छ ।’

यस अवस्थामा संस्थानले आज बुधबार संघसंग छलफल गर्न लागिएको हो।संस्थानका कार्यालय प्रमुख हरिप्रसाद सुवेदीले पत्राचार गरी ३२ पानेजु संघलाई छलफलमा भाग लिन आग्रह गरेको छ।सो संघ मच्छिन्द्रनाथका पुजारीहरुको संघ हो ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको उपस्थितिमा पाटनस्थित महाबौद्ध परिसरमा सो मूर्तिलाई विशेष पुजाआजा गरी कीर्तिपुरस्थित प्यंगःथांमा स्थापना गर्न त्यहाँको समितिलाई गत मंसिर १५ गते विहीबार हस्तान्तरण गरिएको थियो। महानगरपालिकाको सहयोगमा सो मूर्ति प्रसिद्ध मूर्तिकार एवं सम्पदा अभियन्ता रवि शाक्यले बनाउनुभएको थियो ।

गत मंसिर १९ गते सोमबार ३२ पानेजु संघले विज्ञप्ती प्रकाशित गरी त्यसप्रति खेद प्रकट गरेको थियो।मूर्ति हस्तान्तरण गरिएको विषयमा संघका पदाधिकारीहरुले सामाजिक सञ्जाल मार्फत थाहा पाएका थिए।मन्दिर निर्माण गरी मूर्ति स्थापना गरी कुरो उठेदेखि आफूहरुले असहमति प्रकट गर्दै आएको पनि संघका अध्यक्ष शाक्यले बताउनुभयो ।

हरेक वर्ष रातो मच्छिन्द्रनाथलाई थतिटोलबाट तानेर जावलाखेल पु¥याउने चार दिन अघि मच्छिन्द्रनाथका पुजारी (जल पानेजु) प्रसाद लिएर कीर्तिपुरस्थित प्यंगःथांमा पुगेर शक्ति स्वरुपा कन्यालाई प्रसाद ग्रहण गराउने परम्परा रहेको छ ।

पानेजु संघका अध्यक्ष शाक्यका अनुसार मच्छिन्द्रनाथका पुजारीले शक्ति स्वरुपा कन्यालाई प्रसाद ग्रहण नगराई रथ भोटो जात्राको लागि जावलाखेलतर्फ तान्न नहुने मान्यता रहेको छ।कीर्तिपुरको सो स्थानमा मच्छिन्द्रनाथको प्रतिमूर्ति स्थापना भएपछि शक्ति स्वरुपा कन्या कुमारीलाई प्रसाद ग्रहण गराउने परम्पराको औचित्यमाथि प्रश्न उठेको संघका अध्यक्ष यज्ञरत्न शाक्यको भनाई रहेको छ  ।

युगौंयुगदेखिको ऐतिहासिक र सांस्कृतिक परम्परा तोडमोड गरी शक्ति स्वरुपा कन्या (याकः मिसा)लाई श्री करुणामय रातो मच्छिन्द्रनाथको प्रेमिकाको संज्ञा दिई गलत तथा भ्रमपूर्ण प्रचारप्रसार गर्दै आएको घोर आपत्ति प्रकट गर्दछौं ।’ संघले प्रकाशित गरेको विज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्