सहारा क्लव र हिमश्री फुड्स प्रालिबीच १० वर्षे सम्झौता

आहा ! रारा गोल्डकपको ब्राण्डमा थपियो ‘पोखरा’



कास्की । सहारा क्लव पोरखा र हिमश्री फुड्स प्रालिले १० वर्षे आपसी सम्झौता गरेका छन् । उक्त क्लवले प्रत्येक वर्ष आयोजना गर्दै आएको आहा ! रारा गोल्डकपको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिले आगामी १० वर्षका लागि आपसी सम्झौता गरेको हो ।

आज (मंगलबार) पोखरामा आयोजित हस्ताक्षर कार्यक्रममार्फत २०५८ सालदेखि मुख्य प्रायोजन गर्दै आएको हिमश्री फुड्स प्रालिका अध्यक्ष प्रेमकुमारी केसी र क्लबका अध्यक्ष हरिराम गुरुङ (सुरज)ले हस्ताक्षर गर्दै सम्झौता समयावधि १० वर्षका लागि बढाइएको हो ।

उक्त सम्झौताअनुसार सहारा क्लब पोखरालाई हिमश्री फुड्स प्रालिले पहिलो ३ वर्षमा १८ लाख, दोस्रो ३ वर्षमा २१ लाख, तेस्रो ३ वर्षमा २४ लाख र २०८८ सालमा २७ लाख रकम सहयोग गर्नेछ भने पहिलो २ वर्षको किस्ता स्वरुप ३० लाख प्राप्त भइसकेको छ ।

सो अवसरमा बोल्दै प्रालिका निर्देशक किरण केसीले उत्पादनसँगै सहारा क्लबको समाजसेवमा थप १० वर्ष जोडिन पाएकोमा खुशी व्यक्त गरे । सहारा क्लब प्रतियोगिता मात्र होइन समाजसेवामा पनि जोडिएको छ । त्यसैले सकारात्मक काममा हाम्रो उत्पादनसँगै जोडिन पाएकोमा हामी केसी परिवार हर्षित छौँ र यो साथ १० वर्षका लागि थप गरेका छौँ ।

यसैगरि राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङले सहारा क्लबलाई सदैव सहयोग गर्ने प्रतिवद्धता जनाए । ‘रंगशालामा प्रतियोगिता गर्न चाहाने सबै संस्थालाई स्वागत छ’ उनले भने, ‘नाफामूलक गर्छु भन्नेलाई सहयोग गर्न सकिँदैन । तर समाजसेवाका लागि खेलकुद विकासको लागि काम गर्नेहरुका लागि रंगाशालाको गेट सधै खुल्ला छ । तर सरसफाई र संरक्षणमा ध्यान दिनुपर्छ ।’

आहा ! रारा गोल्डकपको ब्राण्डमा थपियो ‘पोखरा’

आहा ! रारा गोल्डकप २२औँ संस्करणमा आइपुग्दा नाममा परिवर्तन गरिएको छ । २०५८ बाट क्याराभान गोल्डकप फुटबल प्रतियोगिताबाट अगाडी बढेको गोल्डकप २२ औं संस्करणमा आइपुग्दा मोफसलकै बहुप्रतिष्ठित प्रतियोगिता भएको ठहर गर्दै प्रतियोगिताको नाम परिवर्तन गरिएको हो ।

क्लबका अनुसार अब उक्त प्रतियोगिताको नाम ‘आहा १ रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता’ भएको छ । क्लबका अध्यक्ष हरिराम गुरुङ (सुरज)ले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गरि पोखरालाई स्पोर्टस् हबको रुपमा परिचित गराउने उद्देश्यसहित ब्राण्डमा ‘पोखरा’ थप गरिएको स्पष्ट पारे ।

उनले मुख्य प्रायोजकको रकम वृद्धि भएको बताउँदै पुरस्कार राशिमा पनि केही बृद्धि गरिने जानकारी दिएका थिए । यस पटकको २२औँ संस्करणको प्रतियोगिता आगामी पुष १२ गतेदेखि २३ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुनेछ ।
सहारा क्लबले सञ्चालन गर्दै आएको एकेडेमीमा हाल ३० जना आश्रित छन् ।

प्रतिक्रिया दिनुहोस्