प्रचण्ड शान्ति र क्रान्तिका नायक : पौडेल



गोरखा । 

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ क्रान्ति र शान्तिको नायक भएको बताउनुभएको छ । सोमबार गोरखाको पालुङटारमा गठबन्धन दलका चुनावी सभामा बोल्दै नेता पौडेलले गाउँमा मुलुकमा भएको परिवर्तनको मुख्य व्यक्ति नै प्रचण्ड भएको बताउनुभयो । प्रचण्डसँग स्पष्ट दृष्टिकोण रहेको पनि उहाँको भनाइ छ ।

यसैबीच सोमबार नै गोरखाको छिमेकी जिल्ला लमजुङको अल्काटारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गठबन्धन समयको माग भएकाले चुनावपछि पनि कांग्रेस र माओवादीको गठबन्धन कायमै रहने बताउनुभयो । आफ्ना पार्टीका महासचिव देव गुरुङलाई मत माग्दै उहाँले देव गुरुङको विजयले लमजुङ जिल्लाको विकास निश्चित रहेको बताउनुभयो ।

एमाले नेतामाथि आक्रमण

गोरखामा एक जना एमालेका नेतामाथि आक्रमण भएको छ । पालुङटार नगरपालिका–७ स्थित एक रिसोर्टमा आइतबार राति ११ बजे खाना खाइरहेका बेला एमाले गण्डकी प्रदेश सदस्य हरि काफ्लेमाथि आक्रमण भएको नेकपा एमाले गोरखा क्षेत्रनम्बर २ का उम्मेदवार अब्दुस मियाँले बताउनुभयो । खाना खान रिसोर्टमा गएका काफ्लेलाई त्यहीँ रहेका पाँच युवाको समूहले आक्रमण गरेको पनि उहाँले बताउनुभयो ।

काफ्लेको टाउकोमा चोट लागेको छ । उहाँलाई उपचारका लागि काठमाडौं पठाइएको छ । आक्रमण गरेको आरोपमा तनहुँका अजित पन्त र राम थापालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । आफू चुनाव प्रचारका लागि अन्य स्थानमा भएको समयमा आफ्ना मान्छेमाथि आक्रमण भएको र अनुसन्धानको पाटो भने प्रहरीको नै भएको मियाँले नेपाल समाचारपत्रसँग भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्