भट्टेडाँडामा विमानस्थल, माल्टामा सिमेन्ट कारखाना

ललितपुर १ एमालेका उम्मेदवार सिलवालको उद्घोष



ललितपुर ।

अघिल्लोपटक नयाँ योजना अघि सारेर चुनाव जितेका नेकपा एमालेका उम्मेदवार नवराज सिलवालले यसपटक ललितपुर दक्षिणभेगको विकासको मार्गचित्र अघि सार्नुभएको छ । ललितपुरमा शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी उहाँले

विकासको मार्गचित्र सार्वजनिक गर्नुभएको हो ।सिलवालले अघि सारेको विकासको मार्गचित्रमा भट्टेडाँडामा विमानस्थल, लिच्छवीकालीन शहर चापागाँउलाई पुरातात्विक ढंगबाट विकास गर्ने, लेले चन्दनपुरलाई धरान चतरासम्म जोड्ने, लेले–बगुवा–चन्दनपुर सडकलाई रिङरोड बनाउने, गोदावरी मानेचौर सुरुङमार्ग, दलचोकीमा नगरकोटजस्तै पर्यटकीय स्थलहरू निर्माण गर्ने, माल्टामा सिमेन्ट कारखाना, वागमती, गोदावरी, कर्मनासा कोरिडोर निमार्णलगायत समेटिएको छ ।

पत्रकार सम्मेलनमा उम्मेदवार सिलवालले चापागाउँ–लेले–चन्दनपुर सडकलाई ठूलादुर्लुङ–फापरवारी–धरान–चतारासम्म विस्तार गरेर राष्ट्रिय राजमार्गको रूपमा अघि बढाउने योजना बनाएको जानकारी दिनुभयो ।उहाँले आफ्नो अघिल्लो कार्यकालमा राष्ट्रिय योजना आयोगसँग उक्त विषयमा छलफल गरेको जानकारी पनि दिनुभयो । उहाँले लिच्छविकालीन शहर चापागाउँलाई पुरातात्विक रूपमा विकास गर्ने र यस क्षेत्रका जनताको सहयोग पाएमा चापागाउँलाई विश्वसम्पदासूचीमा सूचीकृत गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

केपी ओली सरकारले चापागाउँको डीपीआर तयार गरिसकेको थियो । उहाँका अनुसार र चापागाउँको ऐतिहासिकता कायम गर्न करिब ५५ करोड रुपियाँ लाग्ने बताउँदै उहाँले एमालेको सरकार आएमा चापागाउँलाई पुरानो शहरको रूपमा विकास गर्ने बताउनुभयो ।चापागाउँमा रहेका बहाः, फाल्चा, मठमन्दिर, पोखरी, ढुंगेधारा लिच्छवीकालीन स्वरूपमा पुनःनिर्माण गर्ने योजनाका साथै बज्रबाराही क्षेत्रको योजना सुनाउँदै सिलवालले भन्नुभयो– ‘वज्रवाराही जंगललाई लन्डनको हाइट पार्कजस्तै चारैतिर दुबो र फूलहरूले सजाएर हिँड्ने बाटो बनाइनेछ । यहाँका बासिन्दा र बालबालिकाहरूलाई खेल्ने ठाउँ बनाउनेछौं ।’

ललितपुरको भट्टेडाँडाको तीनपाने जंगलमा आन्तरिक विमानस्थल निर्माण गर्ने अर्को योजना सुनाउँदै सिलवालले भन्नुभयो– ‘विज्ञहरूले त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल साँधुरो हुँदै गएको सन्दर्भमा एक घण्टाको दूरीमा अन्तरिक विमानस्थल निर्माण गर्नुपर्ने सुझाव दिएका छन्, सोही सुझावको आधारमा विमानस्थलको मार्गचित्र अघि सारेको हुँ । सो क्षेत्रमा विमानस्थल निर्माण गर्दा २ हजार ३ सय मिटरको रन वे बनाउन सकिने विज्ञहरूको भनाइ छ । विमानस्थल निर्माण गर्दा सो क्षेत्रबाट करिब ६ अर्ब रुपियाँ बराबरको निर्माण सामग्री समेत प्राप्त हुने समेत अनुमान गरिएको छ ।’

गोदावरीबाट काभ्रेको मानेचौर जोड्ने शुरूङमार्ग निर्माण गर्न केपी ओली सरकारको पालामा बजेट व्यवस्थापन गरिएको जानकारी दिँदै उहाँले सो सडक काभ्रेको नमोबुद्ध पनौतीसम्म जोडेर पर्यटकीय गन्तव्यहरूलाई सहज बनाउन सकिने बताउनुभयो ।

साथै यो योजना पूरा हुँदा फुल्चोकी जलाधार र दलचोकीसम्मको गन्तव्य सहज हुने पनि उहाँको भनाइ थियो । दक्षिण ललितपुरको पर्यटकीय स्थलहरूको विकास मार्गचित्र अघि सार्दै उहाँले भन्नुभयो– ‘दलचोकीलाई नगरकोट झैं विकास गर्ने, कालेश्वर, गुप्तेश्वर गुफा, चमेरेगुफा, वैतर्णीधाम, फुलचोकी र माझखण्डलाई एकीकृत पर्यटकीय विकासका लागि योजना ल्याउनेछौं ।

माल्टा डाँडागाउँमा रहेको क्लिङ्कर खानी चलाउन यसका लागि खानीखोला विद्युत् आयोजनाले प्रशारण लाइनसँगै विद्युत् सबस्टेसन निर्माण गरेको छ ।’ क्लिंकर खानी सञ्चालन गर्न निजी क्षेत्र अघि बढे पनि लामो समयदेखि सञ्चालन हुन सकेको छैन ।उहाँले ललितपुरमा वागमती करिडोरअन्र्तगत फर्सिडोल, डुकुछाप, घुसेल, झागलकोट हुँदै माल्टा जोड्ने करिडोर निर्माण गर्ने र गोदावरी खोला करिडोर, कर्मनासा र नख्खु करिडोरलाई पनि विस्तार गर्ने योजना अघि बढाइने जानकारी दिनुभयो ।

उहाँले प्रतिनिधि सभा सदस्य हुँदा आफ्नो पहलमा गोदावरीमा देशकै ठूलो ‘सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र’ निर्माण, दुर्गम मकवानपुर र दक्षिण ललितपुरमा ३ वटा पुल, प्युटारमा थाङसिङटार पालिका अस्पताल, भट्टेडाँडा अस्पताललाई २५ श्ययाको अस्पतालमा स्तरोन्नति, वज्रवाराही चापागाउँ अस्पताललाई जिल्ला अस्पताल, भागावनलाई पर्यटकीय स्थल, वगुवा–चन्दनपुर सडकलाई कालोपत्रे गर्न शुरू गरिएको जानकारी दिनुभयो ।

सिलवालले त्यस्तै विर्केधारा, शंखु, इकुडोल माझखण्ड आश्राङ सडक, छपेली इकुडोल आश्राङ सडक निर्माणजस्ता ललितपुरको विकासका आधार तयार गरेको दाबी गर्दै ललितपुरमा एमालेको जितसँगै देशको नेतृत्व गर्ने अवसर पाए ललितपुरको क्षेत्रनम्बर १ मा विकासको वहार ल्याउने ठोकुवा गर्नुभयो । उहाँले भन्नुभयो– ‘हामीले यति धेरै काम गरेका छौं । तर प्रतिपक्ष चाही ५ वर्ष केही नगरेको भन्दै गलत प्रचार गरेर हिँडेका छन् । यो झुटको खेती यहाँका जनताले बुझिसकेका छन् ।’

प्रतिक्रिया दिनुहोस्