गोरखामा इतिहास रचिन्छ भन्नेमा ढुक्क छु : अब्दुस मियाँ



काठमाडौं  । 

मङ्सिर ४ गते हुने संघीय र प्रदेश सभा निर्वाचनमा दलहरू आफ्ना एजेन्डाभन्दा पनि विपक्षीलाई गाली गर्न व्यस्त देखिन्छन् । २०४६ सालको परिवर्तनपछि मुलुक बनाउनभन्दा दलहरू आफ्नो स्वार्थ पूरा गर्न लागेको भन्दै जनतामा आक्रोश पैदा हुँदै गरेको समयमा केही युवाहरू आफूले देश बनाउन सक्ने स्वघोषणा गर्दै यसपटकको निर्वाचनमा होमिएका छन् ।

तर, दलहरू भने जनतामाझ आफ्नो एजेन्डा लैजानुभन्दा पनि विपक्षीको विरोध गर्न व्यस्त देखिन्छन् ।दलहरू एजेन्डाविहीन बन्दै गएको र दशकौंदेखि एउटै व्यक्ति पटकपटक सांसद, मन्त्री, प्रधानमन्त्री भइरहेको तर उनीहरूले मुलुकको लागि केही दिन नसकेको टिप्पणी गर्दै राजनीतिशास्त्री मित्रलाल शर्माले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘नेताहरूले लिन मात्रै जाने, दिन जानेनन्, त्यही भएर अहिले दलहरूप्रति आक्रोश बढेको छ ।

हामीकहाँ राजनीति यतिसम्म बिग्रियो कि आफ्नै दलका नेतालाई टिकट दिँदा घुस लिने परिपाटीको विकास भयो अनि कहाँबाट दलप्रति जनताको आशा र भरोसा जाग्छ ?’अहिले ठूला भनिएका दलहरूले सेटिङ गरेर आफ्नो क्षेत्र सुरक्षित गरेको आरोप लाग्दै आएको छ । यद्यपि, दलहरूमा पनि युवाको आकर्षण भने घटेको देखिँदैन । लाखौं युवाहरू अहिले दलीय राजनीतिमा आबद्ध भएर चुनावमा होमिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको संसदीय निर्वाचन क्षेत्र डडेलधुरा र गोरखा–२ बाट पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को क्षेत्र अहिले चर्चामा रहेको छ ।

देउवालाई उहाँकै पुराना कार्यकर्ता कर्ण मल्ल र स्वतन्त्र उम्मेदवार सागर ढकालले चुनौती दिनुभएको छ भने गोरखामा एमालेबाट उम्मेदवार बनेका युवा अब्दुस मियाँले चुनौती दिनुभएको छ ।आफ्नो निर्वाचन क्षेत्र चितवन–३ छोडेर गोरखातर्फ लागेका प्रचण्डका प्रतिस्पर्धी मिया अहिले राष्ट्रिय राजनीतिको केन्द्रमा छन् । अहिले सामाजिक सञ्जालले उहाँलाई यति पछ्याएको छ कि उहाँलाई चुनावी अभियानमा सहभागी हुन पनि भ्याईनभ्याई भएको छ ।

टेलिफोन संवाद गर्ने लामो प्रयत्नपछि सम्पर्कमा आएका गोरखाको पालुङटारमा रहेका मियाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘म अहिले चुनावी अभियानमा छु । साथीहरूको साथ सहयोगले यसपटकको निर्वाचन मेरै पक्षमा आउनेमा म ढुक्क छु । प्रचण्डसँग कुनै मिसन, भिजन छैन, यो क्षेत्रलाई सुरक्षित देखेर उहाँ आउनुभएको होला तर गोरखाली जनताले प्रचण्डलाई राम्रोसँग चिनेका छन् ।’ गोरखाको प्रतिनिधि को ? अब्दुस कि प्रचण्ड भनेर यहाँका जनताले बुझेका छन् भन्दै उहाँले भन्नुभयो– ‘अब्दुस मियाँ चाहिँ अबको २५ वर्ष गोरखाको प्रतिनिधि बन्छु भन्ने पात्र हो ।

अर्कोतर्फ प्रचण्डचाहिँ यो पटकलाई म गोरखा आइदिएको भनेजस्तै हो । गोरखाको वर्तमान र भविष्य पनि म नै भएकाले म मेरा प्रतिस्पर्धीभन्दा बलियो नै छु । अंकगणितको कुरा गर्ने हो भने पनि मेरो प्रतिस्पर्धीको पार्टी माओवादीको मत २२ हजारको हाराहारीमा छ । तर, माओवादी विपरीत मतचाहिँ ४३ हजार छ । यसकारण मेरो लक्ष्य चाहिँ ४३ हजार मत हो । उहाँले जति बल लगाए पनि उहाँको पुँजी भनेको यहाँ २२ हजार मत मात्र हो । अंकगणितको आधारमा पनि म नै बलियो छु । त्यसैले मैले जित्ने आधार छन् र यिनै आधारले अब गोरखामा इतिहास रचिन्छ भन्नेमा म ढुक्क छु ।’

भर्खर राजनीतिमा प्रवेश गर्नुभएको तपाईं मुलुकका लागि त्यत्रो योगदान गरेको व्यक्तिसँग चुनाव लड्दै हुनुहुन्छ, विजय कसरी सम्भव छ भन्ने प्रश्नमा मियाँले भन्नुभयो– ‘यो गोरखा हो, नेपाल एकीकरणको अभियान शुरू भएको जिल्ला हो । म यो माटोमा जन्मी हुर्किएको मानिस हुँ मैले गोरखाको समस्या के हो के गर्नुपर्दछ र गर्छु भन्ने प्रण जनतासँग गर्दै आएको छु । अर्को तपाईंको प्रश्न माओवादी नेता प्रचण्डप्रति लक्षित होला उहाँले हिजो के गर्नुभएको थियो गोर्खाका लागि त्यो हेर्न जरुरी छ । हिजो पृथ्वीनाराण शाहको शालिक तोडफोड गर्ने र शालिकमा पिसाब फेर्दै हिँड्ने मान्छेबाट गोरखाली जनताले कुनै आशा र भरोसा राखेका छैनन् ।’

तपाईंको उम्मेदवारी केका लागि भन्ने प्रश्नमा मियाँले भन्नुभयो– ‘गोरखाको बारेमा कुरा गर्दा देशको उत्कृष्ट १० मध्ये एक–एक वटा कलेज, अस्पताल, उद्योग स्थापना गर्न चाहन्छु । गरिबी उन्मुलनका लागि आजसम्म कति योजना चलाइए ? काम हुन सक्यो त ? गरीबी उन्मूलनका लागि संसारका केही देशले अपनाएर अगाडि ल्याएका मोडललाई म अघि बढाउने सोचमा छु । गरीबी उन्मूलन गर्ने नेपालको लक्ष्य हो भने चीन वा अन्य मुलुकले गरेका विकास मोडललाई लागू गर्नुपर्दछ भनेर म संसद्मा नयाँ कुरा उठाउँछु ।’

प्रतिक्रिया दिनुहोस्