गरिसकेका काम एमालेको घोषणापत्रमा



हेटौंडा । 

सत्तारूढ गठबन्धनका मकवानपुर क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य उम्मेदवार विरोध खतिवडाले हेटौंडा उपमहानगरपालिका मेयर मीनाकुमारी लामा र उपमेयर राजेश बानियाँले गरिसकेको कामहरु हाल एमालेको घोषणापत्रमा रहेको बताउनुभएको छ ।

बुधबार हेटौंडा–३ बसामाडीमा गठबन्धनको चुनावी प्रचार–प्रसार कार्यालय उद्घाटन गर्दै उहाँले एमालेको घोषणापत्रमा झुट र आश्वासनको नारामात्र रहेको आरोप लगाउनुभएको हो ।

‘निःशुल्क पानी, निःशुल्क बिजुली दिने भनेर लेखिएको छ । एमालेले दिइरहनै पर्दैन नि, त्यो काम त हाम्रो हेटौंडाका मेयर लामा र उपमेयर बानियाँले शुरु गरिसकेका छन्’, उहाँले भन्नुभयो– ‘अघिल्लोपटक पानीजहाज, रेल, घर–घरमा पाइपबाट ग्यासलगायत झुटो सपना बाँडिएको थियो । न त्यो सपना पूरा भयो न त हाल ती योजना घोषणापत्रमा समेटिएका छन् । अब जनता केपी ओलीको हावा कुराको पछि लाग्दैनन् ।’

पार्टी कब्जा गर्ने र १०–१५ वर्ष प्रधानमन्त्री बनिरहने केपी ओलीको लोभले एमाले फुटेको र गठबन्धन बनेको उहाँको तर्क छ । हाल गठबन्धनमा हिजोका आन्दोलनमा सँगै भएकाहरु रहेको र एमालेसँग राजा फर्काउँछु भन्ने राजेन्द्र लिङ्देन, आन्दोलनमा दमन गर्ने कमल थापा र मुलुक टुक्र्याउँछु भन्ने सीके राउतसहित प्रतिगमनकारीहरु मत्र रहेको आरोप उहाँको थियो ।

‘बा प्रधानमन्त्री र काका मुख्यमन्त्री हुँदा किन केही नग¥या ? त्यस बेला एमालेका उम्मेदवारहरु महेश बर्तौला र लालबहादुर थापाहरु कहाँ थिए ? आफ्नो गाउँठाउँमा कति बजेट ल्याए ?’, खतिवडा थप भन्नुहुन्छ– ‘बहुमतको सरकार भत्काउने, हाल फेरि सरकार बनाउछु भोट देऊ भन्दै आउन लाज लाग्दैन ?’ एमालेको युवा उम्मेदवार चाहिने नीति हो भने झापाबाट केपी बालाई र मकवानपुर–१ बाट कमल काकालाई फिर्ता बोलाउन उहाँले माग गर्नुभयो । ‘एउटै जिल्लामा राप्तीवारि युवा, राप्तीपारि कमल काका’, उहाँले भन्नुभयो–झापामा वृद्ध बा भए पनि हुने, मकवानपुर–२ मा युवा चाहिने ?’

कति बजेट ल्याए ?

सत्तारूढ गठबन्धनका मकवानपुर क्षेत्र नम्बर २ को प्रदेशसभा ‘ख’ का उम्मेदवार नेपाली कांग्रेस वागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले एमालेको सरकार हुँदा महेश बर्तौला र लालबहादुर थापाले आफ्नो ठाउँमा कति बजेट ल्याए भनेर प्रश्न गर्नुपर्ने बताउनुभएको छ ।

चुनावी अभियानअन्तर्गत बसामाडीमा चुनाव प्रचार–प्रसार कार्यालय उद्घाटन गर्दै उहाँले आफ्नो सरकार हुँदा त बजेट ल्याउन नसक्नेले हाल जनतालाई झुटो आश्वासन र नारा बाँड्नु बेकार भएको बताउनुभयो । ‘केपी ओली र उनको पार्टी नक्कली कम्युनिस्ट भन्ने प्रमाणित भइसकेको छ’, बानियाँले भन्नुभयो– ‘सक्कली कम्युनिस्ट हाल हामीसँग गठबन्धनमा छ । एमालेकै प्रधानमन्त्री र मुख्यमन्त्री हुँदा गाउँमा कुनै बजेट ल्याउन नसक्नेहरुसँग अब जनताले के आश गर्ने ?’ हरेक पालिका र वडामा गठबन्धनको मतान्तर बढिरहेको भन्दै उहाँले त्यसलाई जोगाउँदै गठबन्धनको योजना लिएर गाउँ–गाउँ जान कार्यकर्तालाई अनुरोध गर्नुभयो ।

‘हामी जे बोल्छौं, त्यो गर्छौं । एमालेले जस्तो फोस्रा नारा अनि आश्वासन दिँदैनौं’, बानियाँले थप्नुभयो– ‘शान्ति प्रक्रियाको जगमा गठबन्धन बनेको हो । गठबन्धनकै विषयमा धेरै रुमल्लिनु पर्दैन । गठबन्धनका उम्मेदवारलाई जिताउने अभियानमा सबै लाग्नुहोस् ।’

प्रतिक्रिया दिनुहोस्