नगरकोटका स्थानीयद्वारा माटो थुपारेर सडक बन्द



भक्तपुर ।

भक्तपुर र काभ्रे जिल्लाको सीमानामा पर्ने पर्यटकीय गन्तव्यका रूपमा परिचित नगरकोट सडकखण्ड विगत आठ वर्षदेखि अलपत्र हुँदा स्थानीय र पर्यटकहरूले सास्ती खेप्दै आएका छन् । करिब १५ किलोमिटर भक्तपुर–नगरकोट खण्डको काम समयमै नसकेको भन्दै स्थानीय बासिन्दाले सडकमै माटो थुपारेर सोमबार सडक बन्द गरेका छन् ।

नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नवीन गुरुङले १५ ट्रकजति माटो सडकमा खन्याएर स्थानीयले बाटो बन्द गरेको बताउनुभयो । लामो समयसम्म निर्माण कार्य अलपत्र पार्ने कम्पनीलाई कारबाही गर्नुको साटो राजनीतिक संरक्षण र शक्तिका भरमा पटक–पटक म्याद थप गरिएको भन्दै स्थानीय, व्यवसायी, जनप्रतिनिधिलगायतले ठेक्का नै रद्द गर्नुपर्ने माग गर्दै आएका छन् ।

संघीय सरकारको बजेटबाट सडकको स्तरोन्नतिका लागि आठ वर्षअघि शैलुङ कन्स्ट्रक्सनसँग सम्झौता भएको थियो । तर, सम्झौता भएको लामो समय बितिसक्दा पनि सडक निर्माणले गति लिन सकेको छैन । भक्तपुर–नगरकोट–हिउँवापाटी खण्ड निर्माणको जिम्मा पाएको शैलुङ कन्स्ट्रक्सन–एआईपीएल (आरामाली इन्फ्रा पावर लिमिटेड) जेभीले २०७१ जेठ २२ मा निर्माणको जिम्मेवारी पाएको थियो ।

ढिलाइ हुँदा आयोजनाको लागतसमेत साढे ४ करोड रुपियाँ बढेको छ । भ्याटसहित ३१ करोड ५२ लाख ९२ हजार रुपियाँमा सम्झौता भए पनि अहिले लागत ३५ करोड ८७ लाख १८ हजार रुपियाँ कायम गरिएको छ । यसअघि विभिन्न कार्यक्रम र माध्यमबाट दबाब दिँदै आए पनि निर्माण कम्पनीले अटेरी गर्दै आएको नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष गुरुङले बताउनुभयो ।

विगतमा नगरकोटवासीले गतवर्ष सडक किनारमा शैलुङ कन्स्ट्रक्सनका प्रमुख शारदाप्रसाद अधिकारीको फोटो टाँसेर विरोध गरेका थिए । स्थानीय चाँगुनारायण ६ र ७ का वडाअध्यक्षहरूले सडकमै वडा कार्यालयको काम गरेर विरोध गरेका थिए । अधिकारी पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका घरबेटीसमेत हुन् । विसं २०७३ कात्तिक ४ गते नै काम सक्ने गरी जिम्मा पाए पनि हालसम्म करिब ८० प्रतिशत मात्रै काम सकिएको छ  । उक्त ठेक्काको हालसम्म ७ पटक म्याद थप भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्