अवैध लागूऔषध सहित तीन जना पक्राउ



काठमाडौं । अवैध लागूऔषध सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो (शुक्रबार) दिउँसो उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका–११ थानार्भयाङबाट करिब २० किलो अवैध लागूऔषध गाँजासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–१९ का ६० वर्षीय प्रेम बहादुर थिङ, सोही उपमहानगरपालिका–३ बसामाडीका ४० वर्षीया कबिता थिङ र ३६ वर्षीय सिरसानी मोक्तान रहेका छन् ।

बसामाडीबाट हेटौंडातर्फ जाँदै गरेको ना. २ ह २३६३ नम्बरको अटोलाई प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी अटोका चालक प्रेमसहित उनीहरुलाई पक्राउ गरेको हो ।

त्यस्तै सिन्धुली, कमलामाई नगरपालिका–९ भिमानस्थित सडकबाट ५ सय ९८ ट्याब्लेट नियन्त्रित लागूऔषध नाईट्राभेट र करिब १ ग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित सोही नगरपालिका–७ बस्ने २५ वर्षीय बिमल बस्नेतलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय भिमान र जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्