‘गाई’ चुनाव चिह्नबारे आज फैसला हुँदै



काठमाडौं  । 

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले चुनाव चिह्नका रूपमा माग्दै आएको ‘गाई’ चिह्न पाउने कि नपाउने भन्ने विषयमा सर्वोच्च अदालतले आज टुंगो लगाउने भएको छ । उक्त मुद्दाको टुंगो लगाउन सर्वोच्च अदालतले साउन २४ गतेका लागि तोकेको पेसी साउन २९ गतेका लागि सारेको थियो तर त्यो दिन पनि स्थगित भएको पेसीको आज सर्वोच्च अदालतमा सुनुवाई हुन लागेको हो ।

निर्वाचन आयोगले राप्रपा नेपाललाई गाई चिह्न दिन नमिल्ने जनाइसकेको छ भने राप्रपा नेपालका राष्ट्रिय अध्यक्ष प्रदीपविक्रम राणाले राप्रपा नेपाललाई ‘गाई’ चिह्न दिन नहुने भन्दै गत साउन ८ गते सर्वोच्चमा निवेदन दिनुभएको थियो ।

राणाले निवेदन दिएपछि विवादित बन्दै आएको ‘गाई’ चिह्न राप्रपा नेपाललाई दिन नमिल्ने भन्दै राप्रपाले पनि आपत्ति जनाएको छ । राप्रपाले आफ्नो झण्डामा गाई भएकाले अर्को पार्टीलाई निर्वाचन चिह्न दिनु अव्यवहारिक भएको जनाएको छ । कुनै समय राप्रपा नेपालको निर्वाचन चिह्न ‘गाई’ थियो । गाई चिह्न भएकाले नै राप्रपाले समानुपातिकतर्फ धेरै मत ल्याएको थियो ।

यसैबीच राणा र थापाबीच पार्टीको आधिकारिकताको विवाद पनि उच्च अदालत पाटनसम्म पुगेको छ । राणाले पार्टी आफूले बनाएको र पार्टीमा थापाको कुनै अधिकार नभएको दाबी गर्दै आउनुभएको छ । अदालतले पार्टीको आधिकारिकताको विवादसम्बन्धी पेशी बुधबारलाई तोकेको छ ।

राप्रपा (नेपाल) का अध्यक्ष कमल थापाले आफ्नो पार्टीको पुरानो चुनाव चिह्न गाई पाउनुपर्ने माग गर्दै आउनुभएको छ । यो पार्टीको चुनाव चिह्न अहिले ‘तीर’ रहेको छ । राप्रपा (नेपाल) र राप्रपाबीच एकीकरण भएर राप्रपा बनेपछि तत्कालीन राप्रपा (नेपाल) खारेज भएको थियो । नयाँ राप्रपा नेपाल गठन गर्दा यो पार्टीको चिह्न ‘गोरु’ थियो ।

राप्रपा (नेपाल) बनेपछि अरु पार्टीसँग एकता पनि भएको थियो । एकतापछि पनि पार्टीको नाम राप्रपा नेपाल नै थियो । पार्टीको नेतृत्व लाक्पा तामाङले गर्नुभएको थियो । तामाङले पार्टीमा छलफल नगरी नै पार्टी कमल थापालाई जिम्मा लगाएको भन्दै राष्ट्रिय अध्यक्ष प्रदीपविक्रम राणाले आपत्ति जनाउनुभएको छ ।

थापालाई पार्टी जिम्मा लगाउँदा तामाङले थापाको नासो उहाँलाई जिम्मा लगाएको बताउनुभएको थियो तर राणाले भने हिजोको राप्रपा (नेपाल) र अहिलेको राप्रपा नेपालबीच कुनै सम्बन्ध नभएको दाबी गर्नुभएको छ ।

उहाँले भन्नुभयो– ‘यो राप्रपा नेपाल पुरानो पार्टी होइन, हामीले बनाएर यहाँसम्म ल्याएका हौं । हिजोको कुरा अहिले गर्न मिल्दैन, त्यो राप्रपा (नेपाल) त एकता भएर राप्रपा बनेपछि खारेज भयो र हामीले नयाँ बनाएका हौं ।’

प्रतिक्रिया दिनुहोस्