३ सय भवनको भूमिगत तला निसानामा

बानेश्वरमा मेयर बालेनको कारबाही



काठमाडौं । 

काठमाडौं महानगरपालिकाले पार्किङका लागि बनाएको भूमिगत तलालाई व्यावसायिक प्रयोजनका लागि प्रयोग गर्नेे करिब ३ सय भवनमाथि कारबाही गर्ने भएको छ । घरधनीहरूले भूमिगत तलामा पार्किङको व्यवस्था गर्ने उल्लेख गरी नक्सा पाससहित घर बनाए पनि भूमिगत तलालाई पार्किङका लागि नभई पसल, क्याफे सञ्चालनलगायत व्यावसायिक प्रयोजनका लागि भाडा लगाएपछि महानगरपालिकाले कारबाही शुरू गरेको हो ।

सोमबार बिहान अचानक नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे र प्राविधिक टोलीसहित बानेश्वर कम्प्लेक्स पुगेर मेयर बालेन साहले बानेश्वर कम्प्लेक्सको भूमिगत तला भत्काउन लगाउनुभएको थियो । भूमिगत तला भत्काउन थालेपछि त्यहाँ रहेको व्यापारीले सामान हटाउन थालेको थिए । मेयर साहले भूमिगत तला खाली गर्न दिएको समय सीमालाई वेवास्ता गरेको कारण भत्काइएको बताउँदै भन्नुभयो– ‘अटेर गर्ने सबैमाथि कारबाही गरिनेछ ।’

मेयर साहको टोलीले आज मंगलबार पनि बानेश्वर क्षेत्रको भवन भत्काउन त्यतातिर जाने तयारी गरेको छ । कामपा प्रवक्ता एवं १७ नम्बर वडा अध्यक्ष नवीन मानन्धरले नेपाल समाचारपत्रसँगको कुराकानीमा पार्किङ प्रयोजनका लागि बनाइएको भूमिगत तला खाली नगरेसम्म मेयर र कामपाको कारबाही जारी रहने बतानुभयो । उहाँले भन्नुभयो– ‘मेयर सा’बको टोली आज कहाँ जान्छ कसैलाई जानकारी हुँदैन, गएपछि मात्र मलाई भनिन्छ ।’ उहाँले १० हजार वर्गफुटभन्दा बढी क्षेत्रफलमा घर बनाउन नक्सा स्वीकृत गरेका अधिकांशले मापदण्ड मिचेको हुनसक्ने जानकारी दिनभयो ।

कामपा प्रहरी प्रमुख पाण्डेले करिब २ सय घरको भूमिगत तला मापदण्डअनुसार प्रयोग नभएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘नियमविपरीत बनेका सबै भवनको भूमिगत तला खाली गरिन्छ ।’ दुई दिनअघि मात्र प्रहरी प्रमुखको कार्यभार सम्हालेका पाण्डेले नियमविपरीत बनाइएका सबै संरचना खाली गरिने जानकारी दिनुभयो ।

भूमिगत तलामा पसल राखेर बाटोमा पार्किङको अखडा बनाएको जानकारी आएपछि कामपाल सूचना जारी गरेको थियो । सोही सूचनाको आधारमा सोमबारबाट भूमिगत तला निरीक्षण गरी नियमविपरीत बनेका संरचना हटाउन थालिएको कामपा नक्सा विभाग प्रमुख सुरज शाक्यले बताउनुभयो । उहाँका अनुसार महानगरसँग २०७५ पछि निर्माण भएका भवनको मात्र भूमिगत तलाको रेकर्ड भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – ‘ठूला व्यापारिक भवनमा भूमिगत तलालाई पार्किङ स्थल बनाइएको छ । तर, अलि थोरै जग्गा भएका भवनमा भूमिगत तलाको नक्सा पास गरी व्यवसाय सञ्चालन गरेको पाइएको छ ।’ मेयर साहले सोमबारबाट कारबाही गर्ने विषयमा उपत्यकका प्रहरी प्रमुख डीआइजी रवीन्द्र धानुक र ट्राफिक प्रहरी प्रमुख मिरा चौधरीसँग छलफल गरिसक्नुभएको थियो । सरोकारवाला निकायको सुझाव र निर्णयको आधारमा कारबाही शुरू गरिएको हो ।

महानगरका नगर प्रहरी प्रमुख पाण्डेले कामपाको आग्रहलाई अटेर गरेपछि भत्काउन शुरू गरेको स्पष्ट पार्नुभयो ।महानगरपालिकाले जुन प्रयोजनको लागि भूमिगत तलाको नक्सा स्वीकृत गरेको हो, सोही प्रयोजनका लागि प्रयोग गर्न ३५ दिनअघि जारी गरेको सूचनालाई घरधनीले बेवास्ता गरेपछि मेयर साह आफैं कारबाहीमा उत्रिनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्