संघीयता काम लागेन भन्नु दुई वर्षको बच्चाले खेत जोतेन भन्नु जस्तै : मुख्यमन्त्री पाण्डे



काभ्रे । बागमती प्रदेशका मुख्य मन्त्री राजेन्द्र पाण्डेले प्रदेश सरकार संघीय सरकारको सेकतापमा नपरेको बताउनु भएको छ । ‘केपी ओली प्रधानमन्त्री हुँदा संघीयता विरोधी काम भए भन्ने शेरबहादुर देउवा प्रधानमन्त्री भएको यतिको समय थप के काम भयो ?’–मुख्यमन्त्री पाण्डेले भन्नुभयो–‘केपी ओली र शेरबहादुर देउवा संघीयताका विषयमा उस्तै देखिए ।’

जिल्ला समन्वय समिति काभ्रेको छैटौ जिल्ला सभाको उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले संघीयता खराव भयो भन्ने बेला भई नसकेको बताउनु भयो । सभा हाईटेक प्रविधिबाट सञ्चालन गरिएको थियो । ‘संघीयता भनेकै प्रदेश हो । स्थानीय सरकारको अभ्यास लिच्छवीकाल देखि थियो ।

केन्द्रीय सरकार पनि थियो । संघीयताले थपेको प्रदेश सरकार हो’–मुख्यमन्त्री पाण्डेले भन्नुभयो–‘प्रदेश सरकारले काम गर्न सकेनन, काम छैन भन्नु भनेको दुई वर्षको बच्चाले गोरु जोत्न सकेन भन्नु जस्तै हो ।’ संघीय सरकारले प्रहरी समायोजनको अधिकार त दिएको छैन, भएका अधिकार प्रधानमन्त्री मातहत खिचिएको बताउँदै मुख्यमन्त्री पाण्डेले केपी ओलीले गरेको निर्णय शेरबहादुर देउवाले सम्म उल्टाउन सकेनन् ।

‘हामीले केपी ओलीले गरेको गलत भन्यौं विडम्वना शेरबहादुर देउवाले पनि त्यहि निर्णयलाई सदर गरिरहे’–मुख्यमन्त्री पाण्डेले भन्नुभयो–‘संघीयता बलियो बनाउन संघ सरकारले सेकताप गरिनु पर्छ ।’ संघले प्रयोग गरेका धेरै अधिकार प्रदेशलाई हस्तान्तरण गरिनु पर्ने बताउँदै मुख्यमन्त्री पाण्डेले पालिकाहरुमा पठाउने कर्मचारीको खटनपटन, प्रदेश सरकारलाई चाहिने कर्मचारी समेत आफै राख्ने गरी अध्यादेश मार्फत ब्यवस्थापन गर्न लागिएको जानकारी दिनु भयो ।

‘अहिले प्रदेशमा मात्रै १ हजार ४ सय कर्मचारी अभाव छन्’–मुख्यमन्त्री पाण्डेले भन्नुभयो–‘अध्यादेश मार्फत ल्याएको कानुन अनुसार कर्मचारी भर्ना गर्न शुरु गरिएको छ ।’ स्थानीय सरकार बलियो बनाउन सकियो भने मात्रै संघीयता स्थायी हुन सक्ने पाण्डेले बताउनु भयो ।

समन्वय समितिका प्रमुख दिपक गौतमले जिल्ला सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत भएको नीति तथा कार्यक्रम सर्वसम्वत पास भएको छ । आर्थिक वर्ष २०७८/२०७९ मा भएका कार्यहरुको समिक्षा गर्दै सभामा आगामी दिनमा गर्ने कार्यक्रमहरुलाई पास गरिएको थियो ।

स्थानीय सरकारको उपलब्धी, अभ्यास र अनुभव, समन्वय समितिका पाँच वर्ष र जिल्ला बस्तुगत विवरण नामक पुस्तक प्रकाशन गरिएको सभामा प्रमुख गौतमले जानकारी दिनुभयो । सभामा नीतिगत प्राथमिकताहरुका आधारमा समृद्ध काभ्रेपलाञ्चोक जिल्ला निर्माणमा जोड दिएको बताउनु भयो । प्रमुख गौतमले जिल्लालाई विभिन्न क्षेत्रबाट समृद्ध बनाउन प्रस्तुत गरिएको ४० बुँदे नीति तथा कार्यक्रमलाई हुबहु पास गरिएको छ ।

कार्यक्रममा संघीय सासद गंगाबहादुर दोङ्ग, नविना लामा, पुर्व राज्य मन्त्री सुर्यमान दोङ, संविधान सभा सदस्य तिर्थ लामा, रामहरी सुवेदी, काठमाडौ विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. भोला थापा, जिल्ला समन्वय समिति महासंघका अध्यक्ष नवराज गेलाल, निवर्तमान समन्वय समितिका प्रमुख उद्धव केसी, मण्डनदेउपुर नगरपालिका प्रमुख टोकबहादुर वाईवा, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ्ग, पत्रकार महासंघका अध्यक्ष बद्रिराज तिमस्सिना लगायतले जिल्लाका समग्र विकासका लागि तीन तहका सरकारले खेल्नु पर्ने भुमिका र विगत पाँच वर्षको अभ्यासका सन्र्दभमा धारणा राख्नु भएको थियो । उपप्रमुख रिमबहादुर तामाङ, जिल्ला समन्वय अधिकारी शान्तीराज प्रसाई लगायतले समन्वय समितिले गरिरहेका गतिविधिका बारेमा जानकारी दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्