बायर्नको लगातार दोस्रो जित



लन्डन, (एजेन्सी) ।

जर्मन च्याम्पियन बायर्न म्युनिखले नयाँ सिजनको जर्मन बुन्डेसलिगामा लगातार दोस्रो जित दर्ता गरेको छ ।
मिडफिल्डर थोमस मुलरले एक गोलसँगै एक असिस्ट दिएपछि बायर्नले लगातार दोस्रो जित दर्ता गरेको हो ।

घरेलु मैदानमा बायर्नले वल्फवर्गलाई २–० गोलअन्तरले पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो । यसअघि बायर्नले पहिलो खेलमा आइनट्राख्ट फ्रान्कफर्टलाई पराजित गरेको थियो । बायर्नको सहज जितमा जमल मुसिएला र थोमस मुलरले गोल गरे । दुवै गोल पहिलो हाफमा भएको थियो । एलिएन्ज एरिना म्युनिखमा आइतबार राति भएको खेलको २०औं मिनेटमा साडियो मानेले गोल गरेपनि अफसाइड ठहरिंदा उनको गोलले मान्यता पाएन ।

खेलको ३३औं मिनेटमा जमलले गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए । उनले थोमस मुलरको पासमा गोल गर्न सफल भएका थिए । पहिलो गोलको लागि असिस्ट दिएका मुलरले ४४औं मिनेटमा गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । मुलरले योसुवा किम्मिखको पासमा गोल गर्न सफल भएका थिए ।

दोस्रो हाफमा पनि बायर्नले पाहुना टोलीलाई लगातार दवावमा राखेपनि थप गोल गर्न नसक्दा पहिलो हाफको गोल नै बायर्नको जितमा पर्याप्त बन्यो । यो जितसँगै बायर्न दुई खेलबाट ६ अंक जोडेको छ । पराजित वल्फवर्गको एक अंक मात्र छ । बुन्डेसलिगाकै अर्काे खेलमा माइन्ज र युनियन बर्लिनले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

प्रतिक्रिया दिनुहोस्