बायर्नलाई सुपर कपको उपाधि



लन्डन, (एजेन्सी) ।

जर्मन बुन्डेसलिगाको सशक्त टोली बायर्न म्युनिखले जर्मन सुपर कपको उपाधि जितेको छ । बायर्नले उपाधि जित्नेक्रममा बुन्डेसलिगा प्रतिद्वन्द्वी आरबी लेइप्जिगलाई ५–३ गोलअन्तरले पराजित गरेको हो ।

रेड बुल एरिना लेइप्जिगमा शनिबार राति भएको खेलमा बायर्नलाई च्याम्पियन बनाउन जमल मुसिएला, साडियो माने, बेन्जामिन पाभार्ड, सर्ज जिनाब्री र लिरोए सानेले गोल गरे । लेइप्जिगका तर्फबाट मार्सेल हाल्सटेनवर्ग, क्रिस्टोफोर एनकुुकु र ड्यानियल ओल्मोले गोल फर्काए । गोलको वर्षा भएको खेलको १४औं मिनेटमा जमल मुसिएलाको गोलबाट बायर्नले सुरुवाती अग्रता लिएको थियो । उनले लुकास हर्नान्डेजको पासमा गोल गर्न सफल भएका थिए ।

खेलको ३१औं मिनेटमा जिनाब्रीको पासमा मानेले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा पाभार्डले मुसिएलाको पासमा गोल गरेपछि बायर्न खेलमा ३–० ले अघि बढ्यो । ५९औं मिनेटमा मार्सेल हाल्सटेनवर्गले गोल गर्दै लेइप्जिगलाई खेलमा फर्कने संकेत दिए । ६६औं मिनेटमा जिनाब्रीले गोल गरेपछि बायर्न सहज जिततर्फ अग्रसर बन्यो । खेलको ७७औं मिनेटमा क्रिस्टोफोर एनकुुकुले पेनाल्टीमा गोल गर्दै खेललाई ४–२ को स्थितिमा ल्याए ।

८९औं मिनेटमा ड्यानियल ओल्मोले गोल गर्दै खेललाई ४–३ को रोमाञ्चक स्थितिमा ल्याए । तर, इन्ज्युरी समयको थप गरिएको आठौं मिनेटमा लिरोए सानेले अलफन्सो डाभिसको पासमा गोल गर्दै बायर्नलाई च्याम्पियन बनाए ।नयाँ सिजनमा बायर्नको यो पहिलो उपाधि हो । सुपरकपको सर्वाधिक सफल बायर्नले लगातार तेस्रोपटक तथा समग्रमा १०औं पटक उपाधि जितेको हो ।

यसअघि बायर्नले १९८७, १९९०, २०१०, २०१२, २०१६, २०१७, २०१८, २०२० र २०२१ मा पनि उपाधि जितेको थियो । बायर्नभन्दा पछि बोरुसिया डर्टमन्डले ६ पटक यो उपाधि जितेको छ । अब एक सातापछि बुन्डेसलिगासँगै अन्य घरेलु प्रतियोगिता पनि शुरु हुनेछ । जर्मन सुपर कप बुन्डेसलिगा च्याम्पियन र डिएफबी पोकल च्याम्पियनबीच नयाँ सिजन शुरु हुनुअघि खेल्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्