ब्राजिल आठौंपटक कोपा च्याम्पियन



लन्डन, (एजेन्सी) । 

ब्राजिलको महिला फुटबल टिम आठौँपटक कोपा अमेरिका फेमेनिना च्याम्पियन बनेको छ । आइतबार बिहान भएको खेलमा आयोजक कोलम्बियालाई १–० गोलअन्तरले पराजित गर्दै आठौंपटक कोपा च्याम्पियन बनेको हो । यो समेत ब्राजिलले लगातार चौथोपटक कोपा अमेरिका फेमेनिनाको उपाधि उचालेको हो । ब्राजिल लगातार नवौंपटक फाइनलमा प्रवेश गर्दा आठपटक च्याम्पियन बनेको छ ।

ब्राजिल पाँचौं संस्करणमा अर्जेन्टिनासँग पराजित भएको थियो । कोलम्बियास्थित स्टेडियो अलफन्सो लोपेजमा भएको फाइनलमा ब्राजिलको जितमा डेविन्हाले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ३९औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेकी थिइन् ।

घरेलु टोलीमाथि बल पोसेसन राख्दै दबाब बढाए पनि त्यसपछि थप गोल निस्कन नसक्दा ब्राजिल पहिलो हाफको पेनाल्टी गोलले च्याम्पियन बन्न सफल भयो । ब्राजिल अपराजित र एक गोल पनि नखाई च्याम्पियन बनेको छ । ब्राजिलले समूह चरणको चार खेलमा १७ गोल तथा सेमिफाइनलमा दुई तथा फाइनलमा एक गोल गर्न सफल भयो ।

तेस्रोपटक फाइनलमा पुगेको कोलम्बियाको च्याम्पियन यात्रामा ब्राजिल नै बाधक बन्यो । कोलम्बिया फाइनलको तीनपटकको भेटमा ब्राजिलसँग नै पराजित भएको छ । त्यसअघि, शनिबार पाराग्वेलाई ३–१ ले पराजित गर्दै अर्जेन्टिनाले तेस्रो स्थान हासिल गरेको छ । अर्जेन्टिनाकी यमिला रोड्रिग्वेज ६ गोलसहित सर्वाधिक गोलकर्ता बनिन् ।

कोलम्बियाकी लिन्डा काइसेडो सर्वाेत्कृष्ट खेलाडी चुनिइन् । ८ जुलाईबाट शुरु भएको कोपा अमेरिका फेमेनिनामा दक्षिण अमेरिकाका १० राष्ट्रले सहभागिता जनाएको थियो । समूह चरणपछि शीर्ष दुई टोलीले सेमिफाइनल खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्