भारतमा चेस ओलम्पियाड शुरु



काठमाडौं । 

भारतमा ४४ औं चेस ओलम्पियाड गत बिहीबारदेखि शुरु भइसकेको छ । चेन्नाई शहरमा अगस्ट ९ सम्म चल्ने उक्त ओलम्पियाडमा नेपालको तर्फबाट पुरुष र महिला टोलीले भाग लिएका छन् । पुरुषतर्फ पुरुषोत्तम चौलागाई र रुपेश जयसवाल, क्षितिज भण्डारी, विवेक थिङ र मिलन लामा रहेका छन् । पुरुषोत्तम नेपालका वर्तमान राष्ट्रिय च्याम्पियन हुन् । यस्तै रुपेश र क्षितिज फिडेमास्टर (एफएम) हुन् भने विवेक र मिलन क्यान्डिडेटमास्टर (सीएम) हुन् ।

यसैगरी महिला टोलीमा सुजना लोहनी, कृतिसरा अधिकारी, अनिशा न्यौपाने, विनिता कपाली र शान्ति धिमालले प्रतिस्पर्धा गर्नेछन् । यसमध्ये सुजना नेपालकी राष्ट्रिय च्याम्पियन हुनुका साथै महिलातर्फ एफएम हुन् । यस्तै नेपाल बुद्धिचाल संघका सचिवद्वय अन्तर्राष्ट्रिय आर्विटर उमेश केसीले उक्त प्रतियोगितामा आर्विटरको रुपमा सहभागि हुनेछन् ।

चेस ओलम्पियाड भनेपछि चेसको सबैभन्दा ठूलो प्रतियोगिता हो । यसलाई चेसको महाकुम्भ पनि भनिन्छ । वास्तवमा यो प्रतियोगितामा पहिले रुसको मास्कोमा हुने तय भएको थियो । तर, यूक्रेनमाथि सैनिक आक्रमणपछि रुससँग आयोजना अधिकार खोसिएको थियो । अन्तिम समयमा यसको आयोजक भारत बनेको हो । भारतले तयारीको लागि कम समय बचे पनि प्रतियोगिता आयोजना गर्ने स्विकार गरेको हो ।

जारी चेस ओलम्पियाडमा डिफेन्डिङ च्याम्पियन मेग्नस कार्लसनसहित १ सय ९० राष्ट्रका करिब २५ सय प्रतिस्पर्धीले भाग लिइरहेका छन् । यस पटक खुल्लातर्फ १ सय ८८ टोलीले सहभागि जनाउने भएपछि यो कीर्तिमान बनेको छ । यस्तै महिलातर्फ १ सय ६२ टोलीले भाग लिइरहेको पनि जानकारीमा आएको छ । ९८ वर्ष अघि शुरु भएको प्रतियोगितामा यस पटक रुस र चीनले भाग लिएका छैनन् । यसैगरी पाकिस्तानले प्रतियोगिताबाट हट्ने निर्णय लिएको छ । पाक टोलीले जम्मु काश्मीरबाट मशाल रिले गरेपछि विरोध गर्दै प्रतियोगिता छाड्ने निर्णय लिएको हो ।

प्रतिक्रिया दिनुहोस्