भक्तपुर दुघर्टनाको यथाशीघ्र व्यवस्था मिलाउन गृहमन्त्री खाणको निर्देशन



काठमाडौं ।

भक्तपुर जिल्लाको भक्तपुर नगरपालिका वडा नं १ सल्लाघारीमा रुख ढलेर बस र स्कुटरलाई च्याप्दा भएका घाइतेहरूको यथाशीघ्र उपचारको व्यवस्था गर्न गृहमन्त्री बालकृष्ण खाँणले भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेबी शर्मा र जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिनुभएको छ ।

गृहमन्त्री खाँणले ढलेका रुख र च्यापिएका सवारी हटाएर सडक सुचारु गर्न पनि निर्देशन दिनुभएको छ । सल्लाको रुख ढलेर काठमाडौँबाट भक्तपुरतर्फ गइरहेको बा २ ख ३५८४ नम्बरको यात्रुवाहक बस र बा ६१ च नम्बरको स्कुटरलाई च्याप्दा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिनुभयो ।

घाइतेहरूलाई भक्तपुरमा रहेका इवामुरा अस्पताल र भक्तपुर अन्तर्राष्ट्रिय अस्पताल उपचार भइरहेको प्रजिअ शर्माले जानकारी दिनुभयो ।मृत्यु भएका तीन मध्य एक जनाको सनाखत भएको र दुई जनाको सनाखत हुन नसकेको प्रजिअ शर्माले जानकारी दिनुभयो । मृतक नितेश खर्वुजाको सनाखत भएको हो ।

अहिले नेपाली सेनाले सडकमा ढलेका रुख हटाउने काम गरिरहेको छ । सल्लाको ठुलो रुख ढलेकाले हटाउन केही समय लाग्ने प्रजिअ शर्माले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्