शर्मासँग समितिले लियो बयान

अझै फेला परेन सीसीटिभीको फुटेज



काठमाडौं । 

संसदीय विशेष समितिले निर्वतमान अर्थमन्त्री जनार्दन शर्मासँग बयान लिएको छ । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश दिएको विषयमा छानबिन गर्न गठित समितिले शर्मासँग बयान लिएको हो ।

बिहीबार समितिले पूर्वअर्थमन्त्री शर्मासँग समितिको कार्यकक्षमा बयान लिएको छ । समितिले बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिको प्रवेश भएको हो कि होइन ? त्यस दिनको सीसी क्यामेरोको फुटेज किन मेटियो ? भन्ने प्रश्न गरेको थियो । जवाफमा शर्माले राजीनामा दिने दिन संसद्मा गरेको जवाफ नै दोहो(याउनुभएको थियो ।

बयानपछि बाहिरिने क्रममा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै शर्माले समितिले सोधेको सबै प्रश्नको जवाफ दिएको र यसको निचोड समितिले निकाल्ने बताउनुभयो ।त्यसै गरी छानबिन समितिका सचिव सुरेन्द्र अर्यालले बिहीबारको बयानमा शर्माले सदनमै भनेको कुरा दोहो-याएको जानकारी दिनुभयो । उहाँका अनुसार शर्माले बजेट निर्माणका क्रममा कुनै पनि अनधिकृत व्यक्ति प्रवेश नगरेको बयान दिनुभएको छ ।

समितिले शर्मामाथि छानबिनको काम अघि बढाए पनि बजेट निर्माणको क्रममा प्रवेश गरेका व्यक्तिको विषयमा भेटाउनुपर्ने सीसीटीभी फुटेज भने अझै फेला पार्न सकेको छैन । सीसीटीभी फुटेज रिकभरी हुने सम्भावनामा नेपाल प्रहरीको फरेन्सिक प्रयोगशालामा हार्डडिस्क पठाइएको अर्यालले बताउनुभयो ।

उहाँका अनुसार प्रहरीबाट प्राप्त हुने प्रतिवेदनका आधारमा छानबिनको क्रममा शर्मा दोषी वा निर्दोष ठहरिने भएका छन् । समितिले बजेट निर्माणमा संलग्न अर्थमन्त्रालयका १० अधिकारीसँग बयान लिइसकेको छ । १० दिनभित्र प्रतिवेदन बुझाउन म्याद पाएको समितिले सीसीटिभीको फुटेज भेटाउन नसक्दा प्रतिवेदन बुझाउन ढिला हुने भएको छ ।

समितिको म्याद ७ दिन थपियो

आर्थिक वर्ष २०७९-०८०को बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराएको भन्ने विषयमा गठित संसदीय विशेष छानबिन समितिको म्याद थप भएको छ ।

समिति बैठकको सिफारिसमा सभामुख अग्नि सापकोटाले बिहीबारको प्रतिनिधिसभा बैठकमा संसदीय छानबिन विशेष समितिको म्याद सात दिन थप्ने निर्णय गरेको हो । सभामुखको प्रस्तावलाई स्वीकार गर्दै १० दिनको समयसीमासहित गठन भएको समितिले आफ्नो अनुसन्धान पूरा गर्न नसकेपछि म्याद थप भएको छ ।

समितिको सदस्यहरूमा खगराज अधिकारी, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, देव गुरुङ, शक्ति बस्नेत, मीन विश्वकर्मा, लक्ष्मणलाल कर्ण, सरला यादव, सीताराम महतो र सुरेन्द्र यादव सदस्य रहेका छन् । छानबिन गर्न समिति गठन भएपछि शर्माले असार असार २२ गते राजीनामा दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्