राप्रपा जुट्यो प्रदेश र संघको चुनावी तयारीमा, दुई साताभित्रै कार्ययोजना तयार पार्ने



काठमाडौं । राप्रपाले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी थालेको छ ।

काठमाडौंमा बिहीबारबाट सुरु भएको दुई दिने केन्द्रीय समितिको बैठकमा अध्ययक्ष राजेन्द्र लिङ्देनले पेस गरेको राजनीतिक प्रतिवेदनमा मंसिरको पहिलो साता प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुने देखिएको र यसको तयारीका लागि केन्द्रीय निर्वाचन परिचालन समिति गठन गर्ने प्रस्ताव गरेका छन् ।

केन्द्रीय अध्यक्षको अध्यक्षतामा गठन हुने सो समितिले १५ दिनभित्र निर्वाचनको तयारी सम्बन्धी विस्तृत कार्ययोजना तयार गर्ने उनले उल्लेख गरेका छन् ।

राप्रपा केन्द्रीय समितिको बैठकले चुनावी रणनीति तयार पार्दै

सार्थै जिल्ला अध्यक्षको अध्यक्षतामा जिल्ला निर्वाचन परिचालन समिति गठन गर्न पनि अध्यक्ष लिङ्देनले प्रस्ताव गरेका छन् । उपयुक्त र लोकप्रिय उम्मेद्वारहरुको सम्भावित नामावली संकलन प्रारम्भ गर्ने उनले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

स्वतन्त्र व्यक्तिहरुलाई राप्रपाबाट निर्वाचनमा उम्मेद्वार हुन सार्वजनिक रुपले आह्वान गरी सकिएको र सबै जिल्ला समितिहरुले सम्पर्क र अनुगमन प्रारम्भ गर्ने लिङ्देनको प्रतिवेदनमा उल्लेख छ ।

निर्वाचन आयोगले २ मंसिरमा प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन गर्न मिति प्रस्ताव गरे पनि सरकारले यसबारे निर्णय भने गरेको छ्रैन ।

प्रतिक्रिया दिनुहोस्