एसपीपी स्वीकार नगर्ने पत्र पठाउन माओवादी केन्द्रको माग



काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले एसपीपी अस्वीकार गर्नेबारे अमेरिकालाई पत्राचार गर्न माग गरेका छन् ।

आज (बिहीबार) बसेको प्रतिनिधि सभाको बैठकमा माओवादी केन्द्रका प्रमुुख सचेतक देवप्रसाद गुरुङले एसपीपी अस्वीकार गर्ने विषयमा अमेरिकालाई तत्काल पत्राचार गर्न सरकारलाई रुलिङ गर्न सभामुख अग्निप्रसाद सापकोटासँग माग गरे ।

गत ६ असारमा बसेको मन्त्रिपरिषद् बैठकले एसपीपी अस्वीकार गर्ने विषयमा अमेरिकालाई पत्राचार गर्ने निर्णय गरेको थियो भने पत्राचार गर्ने विषयमा छलफल भइरहेको परराष्ट्र मन्त्रालयले बताउँदै आएको छ ।

सरकारले निर्णय गरेको एक महिना पुगिसक्दा पनि पत्राचार नगरिएपछि सत्तासाझेदार दल माओवादी केन्द्रले सदन र सरकारको ध्यानाकर्षण गराएको हो ।

सरकारले निर्णय गरिसक्दा पनि परराष्ट्र मन्त्रालयले पत्राचार गर्न आनाकानी गर्नु शंकास्पद रहेको गुरुङको भनाइ छ । एसपीपीको नाम फेरेर सम्झौता गर्ने प्रयास भइरहेको उनको भनाइ छ ।

‘एपीपी सम्झौता नहुने भएपछि अरु विकल्प नामहरुबाट कन्टेन्ट त्यही राखेर, सैन्य सम्झौताको कन्टेन्ट राखेर अरु विभिन्न नामबाट पनि वर्कआउट गरिरहेको बुझिन्छ ।

म्युचुअल डिफेन्स ट्रिटी, स्ट्राटिजिक डिफेन्स प्याक्ट नामबाट पनि प्रयास भइरहेको छ । योबाट पनि हुन सकेन भने एमसीसीमा टेकेर स्टाटस अफ फोर्स एग्रिमेन्ट ९सोफा० गर्ने प्रयासहरू भइरहेको छ ।

जसरी भए पनि नेपाललाई आईपीएसको पार्ट बनाउने र अमेरिकाको नेसनल गार्डसँग सैन्य सम्झौता गर्ने तयारी भइरहेको छ । यो विषय गम्भीर विषय भएको हुनाले सरकारले गम्भीरतापूर्वक लिनुपर्छ,’ गुरुङले बैठकमा भने ।

प्रतिक्रिया दिनुहोस्