बाढीले बितण्डा मच्चाएपछि ठोरीवासी चिन्तित, स्थानीय सरकारले हात उठायो, केन्द्र र प्रदेश मौन



वीरगञ्ज । वीरगन्ज, पर्साको ठोरी गाउँपालिकाको स्थानीय ठुटे खोलामा आएको बाढीले हुलाकी सडक छेउको जग्गा कटान गरेपछि त्यस क्षेत्रका स्थानीयहरु चिन्तित बनेका छन् । हिजो (बुधबार) रातिबाट परेको अबिरल वर्षापछि आएको बाढीले उक्त सडक छेउको जग्गा कटान गरेपछि उनीहरु चिन्तित बनेका हुन् ।

ठुटे खोलाको बाढीले ठोरी गाँउपालिका-२ ठोरी बजारस्थित हुलाकी सडक छेउमै रहेको बसपार्कको जग्गा २० मिटर जति कटान गरिसकेको र त्यो क्रम अझै जारी रहेको स्थानीय सञ्चारकर्मी चिरन्जीवी सापकोटाले जानकारी दिए । बाढीको भेलले हुलाकी सडकमा निर्माण गरिएको ढुङ्गाजाली पनि बगाउन थालेको उनले बताए ।

ठुटे खोलामा बाढी निरन्तर बढ्दै गइरहेको अवस्था रहेकाले समयमै सावधानी नअपनाए बाढीले हुलाकी सडक पनि कटान गर्ने जोखिम रहेको उनले बताए । वर्षेनी उक्त खोलामा आउने बाढीले जग्गा कटान गर्ने गरेको स्थानीयहरुले बताएका छन् ।

ठोरी गाउँपालिकाकी उपाध्यक्ष गोकुलीकुमारी रेग्मीले गाउँपालिकाको प्रयासले मात्रै सो कटान रोक्न नसकिने भएकाले केन्द्र तथा प्रदेश सरकारले बजेट तर्जुमा गर्न आवश्यक रहेको बताइन् । सो नदी नेपाल र भारतको सीमा भएर बग्ने नदी हो ।

प्रतिक्रिया दिनुहोस्