वन कार्यालयका अधिकृत नै तस्करीको मतियार ! कर्मचारीसँगको मिलेमतोमा गोलिया काठ गायब

0
Shares

रौतहट । वन कार्यालयका अधिकृत नै काठ तस्करीको मतियार भएको खुलेको छ । सब डिभिजन वन कार्यालय धन्सार र जंगलसैयाका सहायक वन अधिकृत तथा कार्यालय प्रमुख वैजनाथ मण्डल वनमा काठ चोरी–पैठारी गर्ने तस्करीका मतियार भएको खुलेको हो ।

सहायक अधिकृत मण्डलले उपभोक्तासँग राजश्व संकलन गरेर काठ बिक्री–वितरण गर्नुको साटो कार्यालयका जुनियर कर्मचारीसँगको मिलेमतोमा तस्करसँग साठगाँठ गरी वनमा उत्पादित गोलिया काठ गायब बनाएको स्रोतले बताएको छ ।

वन कार्यालय चन्द्रनिगाहपुरका सहायक अधिकृत विमल ठाकुरको नेतृत्वको कर्मचारी टोलीले सब डिभिजन वन कार्यालय धन्सारमा घाटगद्धि गरेको गोलिया काठको बिमर्का गर्ने क्रममा १८१ क्युफिट सालको २४ थान गोलिया काठ गायब भएको पाइएको हो ।

खोजी गर्दै जाँदा उक्त काठ नभेटिएपछि सब डिभिजन वन कार्यालय धन्सारका फरेष्टर सुरेन्द्र कोइरीले डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरमा बुझाएको प्रतिवेदनमा सहायक वन अधिकृत बैजनाथ मण्डल, फरेष्टर मन्जुर मियाँ, वन रक्षक मोहम्मद मुस्तुफाले जंगलसैया साझेदारी वन उपभोक्ता समितिका पदाधिकारीसँगको मिलोमतोमा उपभोक्तालाई पठाएको उल्लेख छ ।

सहायक वनअधिकृत मण्डल सब डिभिजन वन कार्यालय धन्सार र सब डिभिजन वन कार्यालय जंगलसैयाका प्रमुख हुन । जंगलसैया साझेदारी वन उपभोक्ता समितिले आफ्नो वनक्षेत्रमा उत्पादित गोलिया काठ बिक्री गर्ने क्रममा राष्ट्रिय वनमा उत्पादित गोलिया काठ उपभोक्तासँगको आर्थिक लाभका लागि पठाएको खुलेको हो ।

उता बिमर्का गर्न पुगेका सहायक वन अधिकृत विमल ठाकुरले उत्पादित गोलिया काठको बिमर्का एवं चेकजाँच गर्ने क्रममा फेला नपरेको बताए । उता वनबाट दाउरा ल्याउनेलाई वन कार्यालयले पक्राउ गरी मुद्दा चलाउने गरे पनि वन कर्मचारीकै मिलोमतोमा गोलिया काठ तस्करी गराउँदा समेत कुनै कारबाही हुने गरेको छैन ।

गोलिया काठ गायब भएको विषयमा सहायक वन अधिकृत वैजनाथ मण्डलले स्वीकार गरेका छन् । पछिल्लो दिनमा वनबाट तस्करी समेत हुँदै आएको छ । हरिया सालका रुखहरू कटान गर्दै गोलिया बनाएर तस्करी समेत हुँदै आएको छ । सहायक वन अधिकृत कार्यालयमा बस्न छाडेर चन्द्रपुर–४ मा व्यबसाय गदै आएका छन् । गोलिया काठ हराएको विषयमा छानबिन भइरहेको डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका अधिकृत सुनिललाल कर्णले बताए ।

Skip This