एरिक्सन म्यानचेस्टर जाने



during the UEFA Nations League Group B match between Wales and Denmark at Cardiff City Stadium on November 16, 2018 in Cardiff, United Kingdom.

लन्डन, (एजेन्सी) ।

डेनिस मिडफिल्डर क्रिस्टियन एरिक्सन इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडमा जाने चर्चा चलेको छ ।उनलाई युनाइटेडले तीन वर्षको लागि सम्झौता गर्न गरेको प्रस्तावलाई मौखिक सहमति जनाएको बताइएको छ । प्रिमियर लिग क्लब बेन्टफर्डसँगको सम्झौता सकिएपछि उनी यूनाइटेड जाने चर्चा चलेको हो । यसबारे क्लब र एरिक्सनले यसै साता आधिकारिक धारणा सार्वजनिक गर्नेछन् । ब्रेन्टफर्डमा ३० वर्षीय एरिक्सनको सम्झौता यो सिजनको अन्त्यसँगै सकिएपछि उनी फ्रि एजेन्ट बनेका थिए । उनी मेडिकलका लागि ओल्ड ट्राफोर्ड पुगिसकेका छन् । युनाइटेडमा आबद्ध भएमा प्रशिक्षक एरिक टेन ह्यागले यस समरमा सम्झौता गर्ने उनी दोस्रो खेलाडी बन्नेछन् ।

एरिक्सनलाई अनुबन्ध गर्न उनको पूर्व क्लब टोटेनह्याम हटस्परले चासो देखाए पनि उनी युनाइटेड जाने पक्का भएका हुन् । सन् २०१३ देखि सात वर्षसम्म लगातार टोटेनह्यामबाट खेलेका उनी ६ महिनाको सम्झौता बाँकी छँदै उनले २०२० मा इटालियन क्लब इन्टर मिलानमा झन्डै ५ वर्षको सम्झौता गरेका थिए । इन्टरले उनलाई २०२१ मा बेच्ने सूचीमा राखेको थियो । सोही वर्ष भएको युरो २०२० दौरान हृदयघातका कारण क्लबले उनलाई खेल्न नसक्ने सुचीमा राखेको थियो । हृदयघातका कारण मैदानमै ढलेका एरिक्सनको मुटुको शल्यक्रियाको ६ महिनापछि सामान्य अभ्यासमा फर्किएका थिए ।
ब्रेन्टफर्डबाट उनले ११ म्याचमा एक गोल गरेका छन् । इन्टर मिलानबाट दुई सिजनमा उनले ६० खेलमा ८ गोल गरेका थिए । टोटेनह्याममा सात सिजन रहँदा एरिक्सनले तीन सय ५ खेलमा ६९ गोल गरेका छन् । ह्दयघातको झन्डै दुई वर्षपछि एरिक्सनले अन्तर्राष्ट्रिय फुटबलमा पुनरागमन पनि गरिसकेका छन् । एरिक्सनले गत मार्चमा नेदरल्यान्ड्सविरुद्ध खेलेका थिए । २०१० देखि डेनिस टिममा रहेका एरिक्सनले १ सय १५ क्याप जित्दा ३८ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।

त्यसैगरी, ब्राजिली युवा विंगर फरवार्ड रोड्रिगो गोएसले स्पेनिस महारथी रियल मेड्रिडमा सम्झौता नवीकरण गरेका छन् । ब्राजिलियन फरवार्डले रियलसँग नयाँ दीर्घकालीन अर्थात् सन् २०२८ सम्म सम्झौता गरेका हुन् । सन् २०१९ मा रियलमा आबद्ध भएका रोड्रिगोले लगातार उच्च प्रदर्शन गरिरहेका छन् । रियलमा रोड्रिगोको सम्झौता २०२५ सम्म रहेको थियो । लगातारको उच्च प्रदर्शनसँगै रियलले रोड्रिगोलाई दीर्घकालीन रूपमै क्लबमा राख्न सहमत भएको हो ।

गत सिजन रियलले च्याम्पियन्स लिग जित्दा उनले महत्वपूर्ण भूमिका निभाउँदा गोल पनि गरेका थिए । उनले क्वार्टरफाइनल र सेमिफाइनलमा महत्वपूर्ण गोल गरेका थिए । रियलले रोड्रिगोको सम्झौता विस्तार गर्दा तलब वृद्धिसँगै एक बिलियन युरो रिलिज क्लज राखिएको छ । रोड्रिगोलाई अनुबन्ध गर्न प्रिमियर लिग क्लबले चासो देखाइरहे पनि रियलले आफ्ना युवा स्टारलाई क्लबमै राखेको हो । रियलले रोड्रिगोललाई ब्राजिली क्लब सान्तोषबाट २०१९ मा ४५ मिलियन युरोमा क्लबमा अनुबन्ध गरेको थियो ।

सुरुवाती सिजनमा उनी रियलको रिजर्भ टोलीमा रहेका थिए । त्यहाँ उच्च प्रदर्शन गरे पनि उनी सिनियर टोलीमा रहँदै आएका छन् । विरलै अवसर पाएका २१ वर्षीय रोड्रिगोले पछिल्लो समय पाएको अवसरलाई भरपुर सदुपयोग गर्दै क्लबको मन जित्न सफल भएका छन् । रियलबाट रोड्रिगोले तीन सिजनमा १ सय ८ म्याच खेल्दा १८ गोल गरेका छन् । उमेर समूह हुँदै राष्ट्रिय टोलीमा स्थान बनाएका रोड्रिगो २०१९ देखि ब्राजिलको टोलीमा रहेका छन् । उनले ब्राजिलबाट ५ क्याप जित्दा एक गोल गरेका छन् ।

सेलिक रोमामा

इटालियन क्लब रोमाले डिफेन्डर जेकी सेलिकलाई अनुबन्ध गरेको छ । टर्किस डिफेन्डरलाई रोमाले फ्रेन्च क्लब लिलबाट अनुबन्ध गरेको हो । राइट ब्याक सेलिकले रोमासँग चार वर्षको सम्झौता गरेका छन् । सेलिकले रोमामा १९ नम्बरको जर्सी लगाउने छन् । २५ वर्षीय सेलिक फ्रेन्च क्लबमा ४ सिजन बिताएर इटाली आएका हुन् । लिलका लागि उनले १ सय १८ खेलमा ६ गोल गरेका थिए । टर्कीबाट पनि उनले ३२ खेलमा दुई गोल गरिसकेका छन् ।

त्यस्तै, इंग्लिस प्रिमियर लिग क्लब फुलह्यामले पनि पोर्चुगलका डिफेन्सिभ मिडफिल्डर जोआ पाल्हिन्हालाई अनुबन्ध गरेको छ । फुलह्यामले पोर्चुगिज क्लब स्पोर्टिङ लिस्बनबाट उनलाई अनुबन्ध गरेको हो । २६ वर्षीय मिडफिल्डलाई फुलह्यामले १७ मिलियन पाउण्डमा क्लब भित्र्याएको हो । उनले फुलह्यामसँग पाँच वर्षको सम्झौता गरेका छन् । गत सिजन स्पोर्टिङ च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको थियो । स्पोर्टिङलाई अन्तिम १६ मा पु¥याउन पाल्हिन्हाको योगदान महत्वपूर्ण रहेको थियो । पोर्चुगलका लागि उनले १४ म्याच खेलेका छन् ।

जेसस आर्सेनलमा अनुबन्धित
ब्राजिली फरवार्ड गाब्रियल जेसस इंग्लिस प्रिमियर लिग क्लब आर्सनलमा अनुबन्धित भएका छन् । उनी इंग्लिस क्लब म्यानचेस्टर सिटीबाट आर्सेनलमा अनुबन्धित भएका हुन् । जेसस ४५ मिलियन पाउण्डमा पाँच वर्षको लागि आर्सेनलमा अनुबन्धित भएका हुन् । अब उनी २०२७ सम्म आर्सेनलमा रहनेछन् । जेसस अनुबन्ध भएसँगै अब उनी मिकेल अर्टेटाको अमेरिका भ्रमणको टोलीमा समावेश हुनेछ । जेसस २०१६–१७ को सिजनमा सिटीमा अनुबन्धित भएका थिए । जेससले सिटीका लागि १ सय ५९ प्रिमियर लिगमा ५८ गोल र ३२ असिस्ट गरेका छन् ।

जेससले सिटीबाट चारपटक प्रिमियर लिग, दुईपटक इएफएल कप र कम्युनिटी सिल्ड तथा एकपटक एफए कप जितेका छन् । आर्सेनलले पोर्चुगिज क्लब पोर्टो मिडफिल्डर फाबियो भिरियालाई पहिले नै अनुबन्ध गरिसकेको छ र लिड्स युनाइटेड विंगर राफिन्हालाई पनि ल्याउने प्रयास गरिरहेको छ ।त्यस्तै, म्यानचेस्टर सिटीले भने इंग्ल्यान्डका मिडफिल्डर काल्भिन फिलिप्सलाई अनुबन्ध गरेको छ । प्रिमियर लिग च्याम्पियन सिटीले लिड्स युनाइटेडबाट फिलिप्सलाई अनुबन्ध गरेको हो । २६ वर्षीय फिलिप्सले सिटीसँग ६ वर्षको सम्झौता गरेका छन् । फिलिप्सले लिड्समा ८ सिजन बिताएका थिए ।

म्यानचेस्टर सिटीमा सहभागी हुन पाएकोमा अत्यन्तै खुसी लागेको कुरा व्यक्त गरेका छन् । लिड्सको एकेडेमीमा हुर्किएका फिलिप्सले २०१५ मा सिनियर टोलीमा डेब्यु गरेका थिए । फिलिप्सले लिड्सका लागि २ सय ३५ म्याच खेलका छन् । इंग्ल्यान्डका लागि उनले २३ म्याच खेलेका छन् ।

प्रतिक्रिया दिनुहोस्