लुम्बिनीमा ३३ प्रतिशत मात्र रोपाईं



बुटवल ।

असार १५ सकिँदासम्म लुम्बिनीमा जम्मा ३२.७१ प्रतिशत क्षेत्रमा मात्र धान रोपाईँ भएको छ । यो गत वर्षको भन्दा १३ प्रतिशत कम हो ।

गत वर्ष असार १५ सम्म ४६ प्रतिशत खेतमा रोपाईं भएको थियो । लुम्बिनीमा धान रोपाईं हुने तीन लाख २० हजार २७५ हेक्टर क्षेत्रफलमध्ये हालसम्म एक लाख चार हजार ७५१ हेक्टरमा रोपाईं सकिएको कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका बालिका विकास अधिकृत तथा सूचना अधिकारी शालिकराम गौतमका अनुसार अहिलेसम्म सबैभन्दा धेरै नवलपरासीमा ८० प्रतिशत र सबैभन्दा कम बाँकेमा १३ प्रतिशत धान रोपाईँ भएको छ ।नवलपरासीमा धान रोपाई हुने २१ हजार १७५ हेक्टर क्षेत्रफलमध्ये १६ हजार ९४० हेक्टरमा धान रोपाई सकिएको छ भने बाँकेमा रोपाई हुने ३६ हजार ५०० हेक्टर मध्ये चार हजार ७४५ हेक्टर क्षेत्रफलमा रोपाई सकिएको छ । लुम्बिनी प्रदेशमा सबैभन्दा बढी धान खेती हुने कपिलबस्तुमा १७ प्रतिशत धान रोपाई हुँदा प्रदेशको दोस्रो धेरै धान खेती हुने जिल्ला रुपन्देहीमा ४१ प्रतिशत रोपाईँ सकिएको छ ।

कपिलबस्तुमा धान खेती हुने कुल ७१ हजार २०० हेक्टर मध्ये अहिलेसम्म १२ हजार १०४ हेक्टर क्षेत्रफलमा रोपाईँ सकिएको मन्त्रालयका बाली विकास अधिकृत गौतमले बताए ।लुम्बिनी मा सबै भन्दा कम धान रोपाइँ हुने रुकुम पूर्वमा ६५ प्रतिशत रोपाई सम्पन्न हुँदा रोल्पामा ६० प्रतिशत रोपाई सकिएको छ । रुकुम पूर्वमा धान रोपाई हुने एक हजार ४१९ हेक्टर मध्ये ९२३ हेक्टर क्षेत्रफमा रोपाई सकिदाँ रोल्पामा चार हजार ३४० हेक्टर मध्ये दुई हजार ६१३ हेक्टर क्षेत्रफलमा रोपाई सकिएको छ ।

धान उत्पादन हुने मुख्य जिल्ला दाङमा ३२ प्रतिशत र बर्दियामा ३५ प्रतिशत रोपाईँ सकिएको छ । दाङ जिल्लामा कुल धान रोपाई हुने ३९ हजार ४०० हेक्टर क्षेत्रफल मध्ये १२ हजार ४११ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भइसकेको छ भने बर्दियामा ५० हजार २५० हेक्टर क्षेत्रफलमध्ये १७ हजार ४७७ हेक्टरमा रोपाईँ सकिएको छ । अर्घाखाँचीमा अहिलेसम्म २४ प्रतिशत धान रोपाईँ भएको छ । जिल्लामा धान खेती हुने कुल आठ हजार ५० हेक्टर मध्ये एक हजार ९३२ हेक्टर क्षेत्रफलमा रोपाईँ सम्पन्न भइसकेको मन्त्रालयका बाली विकास अधिकृत गौतमले जानकारी दिए ।

गुल्मीमा २७ प्रतिशत रोपाईँ हुँदा पाल्पामा भने ३५ प्रतिशत रोपाईँ सकिएको छ । गुल्मीमा कुल धान खेती हुने आठ हजार ८३६ हेक्टरमध्ये दुई हजार ३८६ हेक्टर क्षेत्रफलमा रोपाईँ सकिएको छ भने पाल्पमा सात हजार ७०६ हेक्टर मध्ये दुई हजार ६९७ हेक्टर क्षेत्रफलमा रोपाईँ सकिसकेको छ । प्यूठान ६० प्रतिशत रोपाईँ सकिएको छ । जिल्लाको कुल धान रोपाईँ हुने ६ हजार ५८० हेक्टर मध्ये तीन हजार ९४८ हेक्टर क्षेत्रफलमा रोपाईँ सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्