राष्ट्रपति रनिङशिल्ड जनकल्याणलाई



हेटौंडा । 

थाहा नगरपालिकाको आयोजना तथा जनकल्याण माविको व्यवस्थापनमा जनकल्याण माविमा असार ३ देखि ६ गतेसम्म सञ्चालित राष्ट्रपति रनिङशिल्ड जनकल्याणले हात पारेको छ । चौथो मेयरकपको छात्रतर्फ उपाधि सुन्दरीदेवी मावि डाँडाबासले जितेको छ भने छात्रातर्फ उपाधि जनकल्याणले जितेको छ ।

जनकल्याणले २९ विधामा १२ स्वर्ण, ११ रजत, ५ कास्य जित्दै शिल्ड हात पार्दा दोस्रो हुने झम्केश्वरी माविले ४ स्वर्ण र ३ कांस्यपदक जितेको छ । ३ स्वर्ण, ४ रजत र ३ कास्यसहित बज्रबाराही मावि तेस्रो भयो । एथलेटिक्स छात्रछात्रा दुवै विधामा जनकल्याण प्रथम हुन सफल भयो ।

चौथो मेयरकप भलिबल प्रतियोगिताको उपाधि सुन्दरीदेवी माविले जितेको छ । फाइनलमा जनकल्याणलाई सोझो सेटमा पराजित गर्दै सुन्दरीदेवीले उपाधि रक्षा गरेको हो भने तेस्रो बज्रबाराही मावि भएको छ ।

छात्रातर्फ उपाधि जनकल्याणले हात पारेको छ । फाइनलमा मत्स्यनारायण माविलाई पराजित गर्दै जनकल्याणले उपाधि जितेको हो । उत्कृष्ट खेलाडी जनकल्याणकी सामना स्याङतान, उत्कृष्ट डिफेन्डर जनकल्याणकै किशोरी घलान, उत्कृष्ट स्पाइकर मत्स्यनारायणकी रेबिका स्याङतान तथा उत्कृष्ट सेटर जनकल्याणकी मुना स्याङतान भए भने छात्र भलिबलतर्फ उत्कृष्ट खेलाडी सुन्दरीदेवीका पुजन गुरुङ तथा उत्कृष्ट स्पाइकर जनकल्याणका कृजल मोक्तान घोषित भए । उत्कृष्ट विद्यालय तथा खेलाडीलाई नगर प्रमुख विष्णु विष्टले मेडल तथा प्रमाणपत्र प्रदान गरे ।

प्रतिक्रिया दिनुहोस्