आयोजक हेम्जा शुभकामनाको फाइनलमा



काठमाडौं । 

पोखरामा जारी छैटौं संस्करणको शुभकामना गोल्डकपमा खुमलटार युथ क्लबलाई हराउँदै आयोजक हेम्जा युनाइटेड फाइनलमा प्रवेश गरेको छ ।

हेम्जाको गौरी शंकर खेलमैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा खुमलटारमाथि २–० गोलको अग्रता बनाउँदै आयोजकले फाइनलको यात्रा तय गरेको हो । हेम्जाको जितमा दुवै गोल कमल थापा मगरले गरे । अत्यन्तै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिए पनि दोस्रो हाफमा भने हेम्जाले २ गोल गर्न सफल भएको हो ।

खेलको १०औं मिनेटमा हेम्जाका सुनील विकले अग्रता गर्ने सुवर्ण अवसर खेर फाले । पेनाल्टी क्षेत्रमा खाली रहेका उनलाई संजोक केसीले उत्कृष्ट पास दिए पनि उनले भेट्न सकेनन् । १२औं मिनेटमा खुमलटारका दिवस छन्त्यालले २ डिफेन्डरको बीचबाट गरेको शसक्त प्रहारलाई हेम्जाका गोलरक्षक एन्जल श्रेष्ठले उत्कृष्ट बचाउ गरे । उक्त बलमा पाएको कर्नरमा कप्तान आशिष श्रेष्ठको हेडर क्रसबार नजिकैबाट बाहिरिँदा अग्रता लिने अर्को अवसर गुमेको हो ।

पहिलो हाफमा बराबरीमा रोकिए पनि दोस्रो हाफको आठौं अर्थात् खेलको ५३औं मिनेटमा हेम्जाका कमलले अग्रता दिलाए । उनले बायाँ एरियाबाट गरेको उत्कृष्ट प्रहार गोलमा परिणत भएको थियो । उनले खेलको ६७औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै आयोजकलाई फाइनलको यात्रा पक्का गराए । दोस्रो हाफमा भने खुमलटारको प्रदर्सन निकै खस्किएको थियो । दोस्रो हाफमा खुमलटारले खासै प्रहार गर्न सकेन ।

हेम्जाका प्रशिक्षक सौरभजंग कार्कीले आफूहरू योजनाअनुरूप खेल्दा जित हासिल गर्न सफल भएको प्रतिक्रिया दिए । उनले खुमलटारको कम्जोरीको फाइदा उठाउँदा जित हासिल गर्न सफल भएको बताए । उता खुमलटारका म्यानेजर अञ्जन रानाले आफूहरूले रक्षात्मक तरिकाको खेल खेल खेल्दा स्ट्राइक लाइनमा निकै समयस्या आएको सुनाए । उनले स्ट्राइक लाइनमा कम्जोरी हुँदा गोल गर्न नसकेको प्रतिक्रिया दिए । प्रतियोगिताअन्तर्गत बिहीबार अफ्रिकी क्लब एभिनियर र चर्च ब्वाइजबीच फाइनल प्रवेशका लागि अन्तिम खेल हुँदैछ ।

 

प्रतिक्रिया दिनुहोस्