कर छलीको आरोपमा इटोलाई जेल सजाय



एजेन्सी ।

स्पेनिस क्लब बार्सिलोना तथा क्यामरुन राष्ट्रिय टोलीका पूर्व स्ट्राइकर स्यामुएल इटोलाई कर छलीको आरोपमा जेल सजाय सुनाइएको छ ।

इटोले बार्सिलोनाबाट खेल्दा ३.२ मिलियन पाउन्ड कर छली गरेको स्वीकार गरेपछि उनलाई २२ महिना जेल सजाय सुनाइएको हो । कर छलीको आरोपमा स्पेनको सिउडाड डे ला जस्टिसिया अदालतले उनलाई जेल सजाय सुनाएको हो । त्यस्तै, उनलाई १.५५ मिलियन पाउन्ड जरिवाना पनि तोकेको छ । इटोमाथि २००६ देखि २००९ सम्म तस्वीरहरू बिक्री गरेवापत आएको रकममा कर नतिरेको आरोप छ ।

तर, उनले जेलभित्र भने बस्नु नपर्ने भएको छ । स्पेनको कानुनअनुसार हिंसात्मक बाहेकका दुई वर्षभन्दा कम जेल सजायका अभियुक्तले जेलमा बस्नु पर्दैन । क्यामरुन फुटसल संघको अध्यक्षसमेत रहेका इटोले आफ्ना पूर्व एजेन्ट जोसे मारिया मेसालेसले गर्दा आफूले उक्त काम गरेको दाबी गरेका छन् ।

४१ वर्षीय इटो २००४ मा बार्सिलोनामा आबद्ध भएका थिए । इटोले सन् २०१४ मा अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका थिए । इटोले क्यामरुनबाट १ सय १८ खेलमा ५६ गोल गरेका थिए । उनले आफ्नो राष्ट्रका लागि ओलम्पिकमा स्वर्ण र अफ्रिका कप अफ नेसन्सको उपाधि दिलाएका थिए ।

चेल्सी र इन्टर मिलानबाट समेत खेलेका इटोले ७ सय १८ क्लब खेलमा ३ सय ५९ गोल र १ सय १६ एसिस्ट गरेका थिए । चार पटकको वर्ष अफ्रिकन खेलाडी घोषित इटोले चार च्याम्पियन्स लिग, तीन ला लिगा र एक सिरी ‘ए’ उपाधि जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्