वेल्स टिमबाट गिग्सको राजीनामा



एजेन्सी ।

वेल्स तथा म्यानचेस्टर युनाइटेडका पूर्वखेलाडी रायन गिग्सले वेल्सको राष्ट्रिय टिमको मुख्य प्रशिक्षकबाट राजीनामा दिएका छन् ।

४८ वर्षीय गिग्स २०२० नोभेम्वरदेखि नै आफ्नो भूमिकाबाट बाहिर रहे पनि उनले सोमबार मात्रै मुख्य प्रशिक्षकबाट राजीनामा दिएका हुन् । आफ्नी पूर्व प्रेमिकालाई आक्रमण गरेको आरोपमा गिग्सलाई नियन्त्रणमा लिइएको थियो । उनले उक्त आरोप भने अस्वीकार गरेका छन् ।

गिग्सलाई अगस्ट २०१७ र नोभेम्बर २०२० को बीचमा आफ्नी पूर्वप्रेमिका केट ग्रेभिलविरुद्ध नियन्त्रण र जबर्जस्ती व्यवहार गरेको आरोप लगाइए पनि उनले यस विषयलाई स्वीकार गरेका छैनन् । उनले ग्रेभिलको घरमा पुगेर ग्रेभिलसँगै उनकी कान्छी बहिनीलाई आक्रमण गरेको बताइएको छ । यस मुद्दाको सुनुवाइ गत जनवरीमा हुने भनिए पनि अगस्ट ८ सम्मलाई स्थगित गरिएको छ । सुनुवाइ कम्तीमा पँँच दिन चल्ने बताइएको छ ।

गिग्सको अनुपस्थितिमा अब रोबर्ट पेजले वेल्सको अन्तरिम प्रशिक्षकको रूपमा जिम्मेवारी सम्हालेका छन् । उनले वेल्सलाई सन् १९५८ पछि पहिलोपटक विश्वकपको फाइनलमा पु-याउन सफल भएको छ । गिग्स सन् २०१८ मा वेल्सको मुख्य प्रशिक्षक बनेका थिए ।

वेल्सका पूर्व कप्तान ४७ वर्षीय पेज अगस्ट २०१९ देखि गिग्सको सहायक रहेका थिए । गिग्स पक्राउ परेसँगै पेजले नोभेम्बर २०२० देखि टोलीको जिम्मेवारी सम्हालेका छन् । पेजको प्रशिक्षणमा वेल्स नेसन्स लिगमा शीर्षस्थानमा रहेका छन् । २०२१ मर्चबाट वेल्सले विश्वकपको यात्रा थालेको थियो ।२०२२ जुनमा युक्रेनविरुद्धको प्लेअफ फाइनलमा जित निकाल्दै वेल्स ६४ वर्षपछि विश्वकपमा छनोट हुन सफल भयो ।

वेल्स यसै वर्ष कतारमा हुने विश्वकपमा इंग्ल्यान्ड, अमेरिका र इरान रहेको समूह ‘बी’ मा परेको छ । पेजको प्रशिक्षणमा वेल्सले २०२१ म भएको युरो २०२० मा पनि नकआउट चरणसम्मको यात्रा तय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्