अफ्रिकी क्लब एभिनियरको सेमिफाइनल यात्रा तय



पोखरा ।

सामान्यतया खेलाडीका लागि लागि ४८ घण्टा आराम समय चाहिन्छ भनिन्छ । त्यो पनि नभए २४ घण्टा त आराम गर्नै पर्ने हुन्छ । नेपालमा यतिबेला विदेशी क्लब एभिनियरको दबदबा रहेको छ । उनीहरू जहाँ जान्छन् त्यहाँ मनोरञ्जनका साथै विपक्षीलाई कडा प्रतिस्पर्धा दिन्छन् ।

सोमबार मात्रै सुनसरीमा जारी भौला कपको उपाधि जितेर पोखरा आएका उनीहरूले आरामै नगरी खेले । यात्राको थकान बोकेर आएको क्यामरुनी टोली एभिनियर हो भने अर्कोतर्फ नेपालको विभागीय क्लब एपीएफ । ६ महिना अघि मात्रै पोखरामा इतिहास रचेर गएको एपीएफविरुद्ध एभिनियरले ४–१ को सानदार जितसहित सेमिफाइनलको यात्रा तय ग-यो ।

पोखरामा पाँच महिनापश्चात् पहिलोपटक आयोजना भएको शुभकामना गोल्डकपमा एपीएफले थकित एभिनियरसँग सेमिफाइनलको लागि खेल्यो । तर, एपीएफले त्यो अवसरको सदुपयोग गर्नै सकेन । उल्टै लज्जास्पद हार व्यहोर्न बाध्य भयो । एपीएफका प्रशिक्षक सुदीप श्रेष्ठले उनीहरूको सोही कमजोरीलाई औंल्याउँदै ४–३–३ को फर्मेसनमा खेलाडीलाई मैदानमा उतारेका थिए । तर, उनको त्यो योजना कामै लागेन ।

उता एभिनियरका प्रशिक्षक आसिक थापा मगर भने खेलाडी थकित भएका कारण खेल स्तर घट्ने सोचाइ राखेका थिए । खेलको शुरुवातमा एपीएफले निकै दबाब दिएर खेलेको थियो । अग्ला–अग्ला अफ्रिकी खेलाडीसामु उनीहरूको जादु चल्नै सकेन । पहिलो हाफको २० मिनेटको खेल हेरेपश्चात् एभिनियरका प्रशिक्षकले योजना परिवर्तन गर्दै खेलाडी परिवर्तन गरिदिए । उनले खेलको २५औं मिनेटमा गिनीको स्थानमा सामे सामेलाई मैदान प्रवेश गराए ।
फलस्वरूप उनले एभिनियरलाई २७औं मिनेटमा अग्रता दिलाए ।

फेडेरिकको पासलाई नियन्त्रणमा लिँदै उनले अब्देललाई पास दिएका थिए । अब्देलले २ डिफेन्डरलाई चिर्दै क्रस गरेको बललाई एपिएफका डिफेन्डर दीपेश धिमालले क्लियर गर्न खोज्दा गल्ती भएको बललाई नियन्त्रणमा लिँदै उनले गरेको सशक्त प्रहार गोलमा परिणत भएको थियो ।त्यसपछि भने एपीएफको खेलको स्तर घटेको थियो । खेलमा अग्रता लिएपछि एभिनियरले एपीएफलाई निकै दबाब दियो । एपीएफको पोस्ट निकै व्यस्त रह्यो । पहिलो हाफमा थप गरिएको अतिरिक्त समयमा फ्रेडेरिकले उत्कृष्ट गोल गर्दै अग्रता दोब्बर पारे । पहिलो हाफमै दुई गोलको अग्रता लिएको अफ्रिकनी टिमले दोस्रो हाफमा समेत दुई गोल गर्दै सहज जित हासिल गरेको हो ।

एभिनियरका परिवर्तित खेलाडी विल्लेले खेलको ८६औं मिनेटमा गोल गर्दै अग्रता तेब्बर पार्दा जितनजिक पुगेको थियो । उनले खेलको ९३ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै जित सहज गरे । उनी खेलको ‘म्यान अफ दि म्याच’ समेत घोषित भए । एपीएफले खेलमा फर्कने प्रयास गरे पनि सकेन ।दोस्रो हाफमा १० खेलाडीमा सीमित एपीएफका लागि सविन थापाले ९४ औं मिनेटमा एक मात्रै गोल गरे । प्रतियोगिता अन्तर्गत भोलि पहिलो सेमिफाइनल खेलमा आयोजक हेम्जा युनाइटेड र खुमलटारबीच हुँदैछ भने बिहीबार दोस्रो सेमिफाइनल खेल एभिनियर र चर्च ब्वाइज क्लबबीच हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्