आहा ! गोल्डकपको प्रेरणामा शुभकामना गोल्डकप



पोखरा । 

पोखरामा शनिबारदेखि थप एक गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । फुटबलको क्षेत्रमा गण्डकी प्रदेशमै एकमात्रै हुँदै आएको आहा ! रारा गोल्डकप पछि अहिले हेम्जा शुभकामना गोल्डकप हुन् लागेको हो ।

नेपालका ‘ए’ डिभिजन क्लब र विदेशी क्लब सहितको समावेश रहँदै आएको आहा ! गोल्डकपले निरन्तरता दिइरहेकै छ । कास्की जिल्ला फुटबल संघले पनि गोल्डकप नगरेको भने होइन् । मनकामना पोखरा केबलकार गोल्डकप आयोजना गरेकै हो तर, पछिल्लो समय भने प्रतियोगिता आयोजना हुनै छाडेको छ ।

पोखरामा २ ठूला प्रतियोगिता हुँदै गर्दा एक प्रतियोगिताले निरन्तरता पाउन नसकेपछि आहा ! रारा गोल्डकपले हुँदै गयो त्यही प्रतियोगिताको प्रेरणाले अहिले फेरि पोखरामा अर्को ठूलो प्रतियोगिताको आयोजना हुन लागेको हो ।पोखरा महानगरपालिका २५ हेम्जास्थित हेम्जा युनाइटेडले पहिलो पटक ‘ए’ डिभिजन क्लब समावेश शुभकामना गोल्डकपको आयोजना गर्न लागेको हो ।

क्लबले यसअघि पाँचौं संस्करणसम्म स्थानीय स्तरको प्रतियोगितामात्रै गर्दै आइरहेको थियो । क्लबले फुटबल एकेडेमी सञ्चालनार्थ प्रतियोगिताको आयोजना गर्न लागेको क्लबका अध्यक्ष इन्द्र कुँवरले जानकारी दिए ।‘संस्थामा छोटो समयमा निकै निकै लोकप्रिय भएको छ । जिल्लाबाहिर समेत क्लबको टिम निकै राम्रो भएको छ । आरा रारा गोल्डकपको देखासिकीले नै हामीले यो प्रतियोगिताको आयोजना गर्न लागेको हौँ’ उनले भने, ‘हामीले फुटबल खेलको विकास र आयोजना कसरी गर्नुपर्छ भन्न ज्ञान लिएर नै अघि बढका छौँ हामीले यसलाई अब निरन्तरता मै लैजाने योजनाका साथ अघि बढेका छौँ ।’

छैटौं शुभकामना गोल्डकप–२०७९ आमन्त्रित फुटबल प्रतियोगिताका लागि आवश्यक तयारी पूरा भएको उनले जानकारी दिए । उनका अनुसार अब मैदानमा लाइन बनाउने र स्टेज सजावटको मात्रै काम बाँकि रहेको छ । त्योबाहेक प्रतियोगिताका अन्य तयारी सकिएको छ । १ विदेशीसहित ८ टिम सहभागी हुने प्रतियोगितामा सहभागी हुने टिम शुक्रबार (आज) सम्म पोखरा आइपुग्ने छन् । उनले प्रतियोगितामा ‘ए’ डिभिजन क्लबका साथै मोफसलमा हुने गोल्डकप फुटबल प्रतियोगिताका विजेता क्लबहरूलाई समेत आमन्त्रण गरेको सुनाए । ‘हामीले सबै ‘ए’ डिभिजन क्लबलाई आमन्त्रण गरेका छैनौं । मोफसलमा गोल्डकप जितेका टिमहरूलाई समेत आमन्त्रण गरेका छौं ताकि उनीहरूको हौसला बढोस् र हाम्रा खेलाडीको पनि ।’

गौरीशंकर खेल मैदानमा हुने प्रतियोगितामा विभागीय क्लब एपीएफ, चर्च ब्वाइज, विदेशी अफ्रिकनी टिम क्यामरुन, कमलटार, कालिका स्पोट्र्स चितवन, बागमती युवा क्लब सर्लाही, विरगञ्ज युनाइटेड र आयोजक हेम्जा युनाइटेड को सहभागिता रहने भएको कुँवरले जानकारी दिए ।प्रतियोगिताको विजेताले नगद ६ लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

भने उपविजेताले नगद ३ लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँको साथमा ट्रफी प्राप्त गर्नेछन् । सर्वाधिक गोलकर्ताले २५ हजार रुपैयाँ तथा उत्कृष्ट डिफेनडर, फिडफिल्डर, फरवार्ड, गोलरक्षक तथा उदीयमान खेलाडीले २०-२० हजार रुपैयाँप्राप्त गर्नेछन् । अनुशासित टिमले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्