हंगेरीसँग इंग्ल्यान्डको लज्जास्पद हार



लन्डन, एजेन्सी । 

यूईएफए नेसन्स लिग ‘ए’ ग्रुप ३ मा इंग्ल्यान्डले घरेलु मैदानमा हंगेरीसँग लज्जास्पद हार बेहोरेको छ । इंग्ल्यान्डभन्दा कमजोर मानिएको हंगेरीसँग घरेलु टोलीले ४–० को फराकिलो गोलअन्तरको लज्जास्पद हार बेहोरेको हो । वल्भरह्याम्टनमा १० खेलाडीमा समेटिएको घरेलु टोलीलाई लज्जास्पद हारको स्वाद चखाउन रोलान्ड सल्लाईले दुई तथा जिसल्ट नागी र ड्यानियल गजडगले समान एक गोल गरे ।

खेलको १६औं मिनेटमा रोलान्ड सल्लाईले गोल गर्दै हंगेरीलाई सुरुवाती अग्रता दिलाएका थिए । उनले एडाम लाङको पासमा गोल गर्न सफल भएका थिए । ७०औं मिनेटमा रोलान्ड सल्लाईले मार्टिन एडामको पासमा व्यक्तिगत र टोलीको लागि दोस्रो गोल गरेपछि बेल्जियम खेलमा २–० ले अघि बढेको थियो । खेलको ८०औं मिनेटमा जिसल्ट नागीले गोल गरेपछि हंगेरी घरेलु टोलीविरुद्ध सहज जिततर्फ अग्रसर बन्यो । उनले मार्टिन एडामकै पासमा गोल गर्न सफल भयो । ८२औं मिनेटमा घरेलु टोली इंग्ल्यान्ड १० खेलाडीमा समेटिन पुग्यो । जोन स्टोन्स दोहोरो पहेलो कार्ड बेहोर्दै मैदानबाट बाहिरिएपछि टोली झनै समस्यामा परेको थियो । त्यसपछि ८९औं मिनेटमा ड्यानियल गजडगले एडाम नागीको पासमा गोल गर्दै घरेलु टोलीलाई फराकिलो हार चखाए ।

यो जितसँगै हंगेरी चार खेलबाट सात अंक जोडेर यस समूहको शीर्षस्थानमा उक्लिएको छ । पराजित इंग्ल्यान्ड दुई अंक जोडेर समूहको पुछारमा छ । यसै समूहमा रहेको जर्मनीको ६ तथा इटालीको ५ अंक छ । यसै समूहअन्तर्गत मंगलवार राति नै भएको अर्काे खेलमा जर्मनीले पनि इटालीमाथि सानदार जित निकाल्यो । जर्मनीले घरेलु मैदानमा इटालीलाई ५–२ को फराकिलो गोल अन्तरले पराजित गरेको हो ।
बोरुसिया पार्क मोन्चेनग्लाडवाकमा भएको खेलमा जर्मनीको फराकिलो जितमा टिमो वेर्नरले दुई तथा योसुवा किम्मिख, इल्केए गुन्डोगान र थोमस मुलरले गोल गरे ।

इटालीका डेगनान्ड वेलफ्रेड नोन्टो र एलेसान्द्रो बास्टोलीले गोल फर्काएका थिए । खेलको १०औं मिनेटमा योसुवा किम्मिखको गोलबाट घरेलु टोली जर्मनीले शुरुवाती अग्रता लिएको थियो । उनले डेभिड राअमको पासमा गोल गर्न सफल भएका थिए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा इल्केए गुन्डोगानले पेनाल्टीमा गोल गर्दै जर्मनीको अग्रता दोब्बर पारेका थिए ।खेलको ५१औं मिनेटमा थोमस मुलरले गोल गरेपछि घरेलु टोली खेलमा ३–० ले अघि बढ्यो । त्यसपछि टिमो वेर्नरले दुई मिनेटमो अन्तरमा दुई गोल गर्दै टोलीलाई फराकिलो जिततर्फ अग्रसर गराए । ६८औं मिनेटमा वेर्नरले सर्ज जिनाब्रीको पासमा गोल गर्दा त्यसको एक मिनेटपछि वेर्नरले जिनाब्रीको पासमा गोल गरेपछि जर्मनीले खेलमा ५–० को आरामदायी अग्रता लिन सफल भयो ।

खेलको ७८औं मिनेटमा डेगनान्ट नोन्टोले गोल गर्दै खेललाई ५–१ को स्थितिमा ल्याए । उनले फेडरिको डिमार्काेको पासमा गोल गर्न सफल भएका थिए । इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा फेडरिको डिमार्काेकै पासमा एलेसान्द्रो बास्टोनीले गोल गर्दै खेललाई ५–२ को स्थितिमा ल्याएपनि इटाली पराजित हुन पुग्यो । यो नजिताले जर्मनी ४ खेलबाट ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । इटाली ५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।त्यसैगरी, मेम्फिस डिपाएले इन्ज्युरी समयमा गोल गरेपछि नेदरल्यान्ड्सले पनि युईएफए नेसन्स लिग ए ग्रुप ४ मा रोमाञ्चक जित निकाल्यो । नेदरल्यान्ड्सले वेल्समाथि ३–२ को रोमाञ्चक जित निकालेको हो । डच टोलीको जितमा डिपाएसँगै नोआ लाङ र कोडी गाक्पोले गोल गरेका थिए ।

वेल्सका लागि ब्रेननान जोन्सन र ग्यारेथ बेलले गोल गरे । रोटरडाम नेदरल्यान्ड्समा मंगलबार राति भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलको १७औं मिनेटमा नोआ लाङको गोलबाट घरेलु टोलीले शुरुवाती अग्रता लिएको थियो । उनले भिन्सेन्ट जान्सेनको पासमा गोल गर्न सफल भएका थिए । खेलको २३औं मिनेटमा कोडी गाक्पोले गोल गर्दै डच टोलीको अग्रता दोब्बर पारे । २६औं मिनेटमा ब्रेननान जोन्सनले गोल गर्दै वेल्सलाई खेलमा फर्काउने संकेत दिए । उनले ह्यारी विल्सनको पासमा गोल गर्न सफल भएका थिए ।

त्यसपछि खेलको इन्ज्युरी समयमा खेल नाटकीय मोडमा पुगेको थियो । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा परिवर्तित खेलाडी ग्यारेथ बेलले पेनाल्टीमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । तर, त्यसको एक मिनेटपछि डिपाएले गोल गर्दै नेदरल्यान्ड्सको जित पक्का गरे । यो जितसँगै नेदरल्यान्ड्स चार खेलबाट १० अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित वेल्स १ अंक जोडेर पुछारमा छ ।
अर्कोतिर मिचे बात्सुयाईको निर्णायक गोलमा बेल्जियमले पनि यसै समूहको अर्को खेलमा पोल्यान्डलाई पराजित ग¥यो । बेल्जियमले घरेलु टोलीमाथि १–० गोलअन्तरको जित निकालेको हो ।

वार्सजावा पोल्यान्डमा मंगलबार राति भएको खेलको पहिलो हाफमा बात्सयाईले गरेको गोल नै बेल्जियमको जितमा निर्णायक बन्यो । उनले १६औं मिनेटमा युरी टिलेमान्सको पासमा गोल गरेका थिए । घरेलु टोलीविरुद्ध बल पोसेसन राख्दै दवाब बढाएपनि बेल्जियमले थप गोल भने गर्न सकेन । यो जितसँगै बेल्जियम चार खेलबाट ७ अंक जोडेर दोस्रो स्थानमा यथावत् रहेको छ । पराजित पोल्यान्ड ४ अंक जोडेर तेस्रोमा छ ।

प्रतिक्रिया दिनुहोस्