क्रोएसियासँग फ्रान्स पराजित



एजेन्सी  ।

युइएफए नेसन्स लिग ए ग्रुप १ को खेलमा क्रोएसियासँग विश्व च्याम्पियन फ्रान्स पराजित भएको छ ।भेट्रान मिडफिल्डर तथा कप्तान लुका मोड्रिचको गोलमा क्रोएसियाले विश्व तथा नेसन्स लिग विजेता फ्रान्सलाई पराजित गरेको हो । फ्रान्स घरेलु मैदानमा क्रोएसियासँग १–० गोलअन्तरले पराजित भएको हो ।

पेरिसमा सोमबार राति भएको खेलमा पाहुना टोली क्रोएसियाको जितमा कप्तान मोड्रिचले पाँचौ मिनेटमा पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो । कर्नरबाट आएको बलमा इब्राहिमा कोनाटले एन्टे बुदिमिरलाई फाउल गर्न पुगेपछि रेफ्रीले क्रोएसियालाई पेनाल्टी प्रदान गरेको थियो ।

जसमा मोड्रिचले बललाई जाली चुमाएका थिए ।एक गोलले पछि परेको फ्रान्सले बल पोसेसन राख्दै क्रोएसियामाथि दवाब बढाएपनि गोल गर्न नसक्दा टोलीले घरेलु मैदानमा हार बेहोर्न पुग्यो । क्रोएसियाले फ्रान्सलाई १०औं खेलमा हराएको हो । यसअघि यी दुईबीच भएको ९ मध्ये ६ खेलमा फ्रान्स विजयी भएको थियो भने तीन खेल बराबरीमा सकिएको थियो ।

यो हारसँगै फ्रान्स नेसन्स लिगको अन्तिम चारको लागि छनोट हुन असफल भएको छ । फ्रान्स नेसन्स लिग ए ग्रुप १ मा जितविहीन बन्दै छनोट हुन असफल भएको हो । फ्रान्सले दुईमा हार र दुईमा बराबरी खेल्दै समूहमा दुई अंक जोडेर पुछारमा रहेको छ ।

टोली शीर्ष स्थानको डेनमार्कसँग ७ तथा दोस्रो स्थानको क्रोएसियासँग ५ अंकले पछि परेको छ । यो जितपछि क्रोएसियाको चार खेलबाट ७ अंक पुगेको छ । यसै समूहमा रहेको डेनमार्क ९ अंक जोडेर शीर्षस्थानमा छ । अब समूह चरणमा दुई खेल बाँकी रहँदा फ्रान्सलाई रेलिगेसनको डर बढेको छ ।

युइएफए नेसन्स लिग ए ग्रुप १ कै अर्को खेलमा डेनमार्कले सहज जित निकाल्यो । घरेलु मैदानमा डेनमार्कले अस्ट्रियामाथि २–० गोलअन्तरको सहज जित निकालेको हो ।

कोपेनहेगनमा सोमबार राति भएको खेलमा घरेलु टोलीको सहज जितमा जोनास वाइन्ड र एन्ड्रिएस स्कभ ओल्सेनले गोल गरे । दुवै गोल पहिलो हाफमा भएको थियो । खेलको २१औं मिनेटमा जोनास वाइन्डको गोलबाट डेनमार्कले सुरुवाती अग्रता लिएको थियो । उनले जोआकिमको पासमा गोल गर्न सफल भएका थिए ।

३७औं मिनेटमा एन्ड्रिएस स्कभ ओल्सेनले गोल गर्दै डेनमार्कको अग्रता दोब्बर पारे । उनले जोनास वाइन्डको पासमा गोल गर्न सफल भएका थिए ।त्यसपछि दोस्रो हाफमा दुवै टोलीबाट कुनै गोल निस्कन नसक्दा पहिलो हाफको गोल नै डेनमार्कलाई जित दिलाउन पर्याप्त बन्यो ।

यो जितसँगै डेनमार्क चार खेलबाट ९ अंक जोडेर शीर्षस्थानमा रहेको छ । टोलीले नेसन्स लिगको अन्तिम चारमा छनोट हुने सम्भावना बलियो बनाएको छ । पराजित अस्ट्रिया ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्