हालान्डको गोलमा नर्वेको जित



लन्डन । 

युवा स्टार एर्लिङ ब्राउट हालान्डले दुई गोलसँगै एक असिस्ट दिएपछि नर्वेले युइएफए नेसन्स लिग बी ग्रुप ४ को खेलमा जितको नतिजा निकालेको छ ।

घरेलू मैदानमा नर्वेले स्वीडेनमाथि ३–२ गोलअन्तरको प्रतिस्पर्धात्मक जित निकालेको हो । ओस्लोमा आइतबार राति भएको खेलमा नर्वेको जितमा हालान्डले दुई तथा एलेक्सान्डर सोर्लाेथले एक गोल गरेका थिए । स्वीडेनका लागि भने इमिल फोर्सवर्ग र भिक्टोर ग्योकेरेसले गोल फर्काएका थिए ।

खेलको १०औं मिनेटमा हालान्डको गोलबाट नर्वेले सुरुवाती अग्रता लिएको थियो । उनले फेडरिक आन्द्रे विजोरकानको पासमा गोल गर्न सफल भएका थिए । खेलको ५४औं मिनेटमा हालान्डले पेनाल्टीमार्फत व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे ।

खेलको ६२औं मिनेटमा इमिल फोर्सवर्गले डिजान कुलुसेभ्स्कीको पासमा गोल गर्दै स्वीडेनलाई खेलमा फर्कने संकेत दिएका थिए । खेलको ७७औं मिनेटमा एलेक्सान्डर सोर्लाेथले हालान्डको पासमा गोल गरेपछि नर्वे खेलमा ३–१ ले अघि बढ्यो ।

इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा भिक्टोरले गोल गर्दै खेललाई ३–२ को स्थितिमा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा नर्वे विजयी हुन सफल भयो । स्वीडेनमाथिको जितसँगै अपराजित रहेको नर्वे चार खेलबाट १० अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित स्वीेडेन तीन अंक जोडेर तेस्रो स्थानमा रहेको छ । यही समूहको अर्काे खेलमा स्लोभेनिया र सर्बियाले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । सर्बिया सात अंक जोडेर दोस्रो स्थानमा रहँदा स्लोभेनिया दुई अंक जोडेर पुछारमा छ ।

त्यस्तै, अर्को खेलमा चेक रिपब्लिकमाथि सहज जित निकाल्दै स्पेन युइएफए नेसन्स लिग ए ग्रुप २ को शीर्षस्थानमा उक्लिएको छ । स्पेनले घरेलु मैदानमा चेक रिपब्लिकमाथि २–० गोलअन्तरको सहजै पराजित गरेको हो । अर्काे खेलमा पोर्चुगलले हार बेहोरेपछि स्पेन शीर्षस्थानमा उक्लन सफल भयो । स्पेनको मालगामा आइतबार राति भएको खेलमा घरेलु टोलीको जितमा कार्लाेस सोलेर र पाब्लो सारावियाले गोल गरे । स्पेनले पहिलो र दोस्रो हाफमा समान एक गोल गरेका थिए ।

खेलको २४औं मिनेटमा कार्लाेस सोलेरले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाएका थिए । उनले मार्काे एसेन्सियोको पासमा गोल गर्न सफल भयो । त्यसपछि ७५औं मिनेटमा परिवर्तित खेलाडी पाब्लो सारावियाले गोल गर्दै स्पेनको जित पक्का गरे । खेलको ७२औं मिनेटमा मार्काे एसेन्सियोको स्थानमा मैदान छिरेका पाब्लोले मैदान छिरेको तेस्रो मिनेटमै अर्का परिवर्तित खेलाडी फेरान टोरेसको पासमा गोल गर्न सफल भएका थिए ।

यो जितसँगै अपराजित रहेको स्पेन चार खेलबाट आठ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । स्पेनले समान दुई जित र हारको नतिजा निकालेको छ । पराजित चेक रिपब्लिक चार अंक जोडेर तेस्रो स्थानमा रहेको छ । पोर्चुगल सात अंक जोडेर दोस्रो स्थानमा झर्दा स्वीट्जरल्यान्ड तीन अंक रहेको छ ।

यही समूहको अर्काे खेलमा पोर्चुगल घरेलु टोली स्वीट्जरल्यान्डसँग १–० ले पराजित भयो । स्वीट्जरल्यान्डमा आइतबार राति भएको खेलमा घरेलु टोलीको जितमा हरिस सेफेरोभिकले गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको पहिलो मिनेटमा नै सिल्भान विडमेरको पासमा गोल गर्न सफल भएका थिए ।

त्यसैगरी कप्तान तथा स्टार भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोविना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग ए ग्रुप २ मा पहिलो हार बेहोरेको छ । पोर्चुगल घरेलु टोली स्वीट्जरल्यान्डसँग १–० ले पराजित भएको हो । स्वीट्जरल्यान्डमा आइतबार राति भएको खेलमा घरेलु टोलीलाई जित दिलाउन हरिस सेफेरोभिकले गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको पहिलो मिनेटमा नै सिल्भान विडमेरको पासमा गोल गर्न सफल भएका थिए । खेलमा सम्हालिन नपाँउदै गोल खाएको पोर्चुगलले त्यसपछि बल पोसेसन राख्दै घरेलु टोलीलाई दवाबमा राखेपनि बलियो रक्षापंक्ति तोड्न नसक्दा पराजित हुन पुग्यो ।

स्वीट्जरल्यान्डले भने आफ्नो अग्रतालाई जोगाउँदै पोर्चुगललाई पहिलो हार चखाउन सफल भयो । स्वीट्जरल्यान्डविरुद्ध टोलीका सर्वाधिक गोलकर्तासमेत रहेका लेजेन्ड रोनाल्डो २३ सदस्यीय टोलीमै रहेका थिएनन् । उनी नहुँदा टोलीको अग्रपंक्ति केही फितलो देखिएको थियो ।पहिलो जितसँगै स्वीट्जल्यान्डले चार खेलबाट तीन अंक जोडेको छ । तैपनि टोली समूहको पुछारमा नै रहेको छ । पोर्चुगल सात अंक जोडेर दोस्रो स्थानमा झरेको छ । स्पेन ८ अंक जोडेर शीर्षस्थानमा उक्लदा चेक रिपब्लिक चार अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्