गोल कम खाने रणनीति असफल



काठमाडौं  ।

पहिलो खेलमा जोर्डनजस्तो सशक्त टोलीसँग नेपाली टोलीले २–० को हार व्यहोरेको थियो । यो नतिजाले दोस्रो खेलमा कुवेतसँग केही प्रतिस्पर्धात्मक खेल हुने अनुमान लगाइएको थियो । तर, यस्तो भएन । प्रत्यक्ष प्रसारणमा स्पष्ट देखिन्छ कि नेपालको रणनीति कम गोल खाने थियो । त्यसो त पहिलो हाफमा नेपाल १–० ले पछि थियो । दोस्रो हाफमा सोचेजस्तो प्रदर्शन नभएपछि नेपालको रणनीति विफल भयो ।
दो

स्रो हाफमा नेपालले एकपछि अर्को गोल खान पुग्दा नेपालले कुवेतलाई ४–१ को नतिजा सुम्प्यो । यो नेपालको जारी एएफसी एसियन कप २०२३ छनोटको तेस्रो चरणअन्तर्गत समूह ‘ए’ मा लगातार दोस्रो हार हो । नेपालको तर्फबाट दर्शन गुरुङले एक गोल फर्काएर लाज बचाएका थिए । ३५औं मिनेटमा गौतम श्रेष्ठको स्थानमा मैदान आएका दर्शनको पहिलो प्रहार डिफेन्डरले ब्लक गर्दा रिबाउन्ड भएको उनको प्रहार डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो । कुवेतका लागि युसुफ नासेरले दुई तथा फहद अलरेसिदी र मुबारक अल फानेनीले समान एक गोल गरे ।

कुवेतले पहिलो खेलमा इन्डोनेसियासँग अप्रत्यासित हार बेहोर्नु नै नेपालको लागि यो खेल बचाउन मुस्किल भएको थियो । घरेलु टोली कुवेतले दोस्रो खेल जसरी पनि जित्ने रणनीति अपनाउँदै नेपालमाथि सुरुदेखि नै दबाब राखेको थियो । यसको नतिजा २८औं मिनेटमा आयो । फहदले गोल गरेर नेपाललाई १–० ले पछि पारेका थिए । अली मातरको क्रसलाई फहदले हेड गरेको बललाई नेपाली गोलरक्षक दीप कार्कीले बचाउन सकेनन् । यो बलले जाली चुमेको उनले हेर्नुबाहेक अरू विकल्प रहेन ।
३९औं मिनेटमा झन्डै नेपाल २–० ले पछि परेको थियो । यसपटक गोलरक्षक दीपले विपक्षीबाट भएको वान भर्सेस वानको आक्रमणलाई विफल तुल्याएका थिए । यसको केही मिनेटपछि नेपालका लागि आयुष घलानले गोल गर्न चुके । उनको प्रहार पोस्टबाट केही इन्चले बाहिरिएको थियो । पहिलो हाफमा नेपालले १–० को स्थितिमा टुंग्याएको थियो ।

दोस्रो हाफ शुरु भएलगतै युसुफले गोल गर्दै कुवेतको अग्रता दोब्बर पारे । ५७औं मिनेटमा कप्तान नवयुग श्रेष्ठको प्रहार क्रस बारमा लागेर फर्कंदा नेपाल अग्रता खुम्च्याउन चुकेको थियो । ६८औं मिनेटमा युसुफले अर्को गोल गरेर नेपाललाई ३–० ले पछि पर्न बाध्य तुल्याएका थिए । ७३औं मिनेटमा मुवारकले गोल गर्दै कुवेतलाई ४–० ले अघि राखे । त्यसपछि इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा दर्शनले गोल गर्दै खेललाई ४–१ को स्थितिमा ल्याएका थिए ।

कुवेतको दुई खेलबाट ३ अंक भएको छ । यो समूहमा जोर्डन र इन्डोनेसियाको पनि समान ३ अंक नै छ । उनीहरूले एक खेल कम खेलेका छन् । नेपालले भने अंक जोड्न सकेको छैन । नेपालले आफ्नो अन्तिम खेल मंगलबार इन्डोनेसियाविरुद्ध खेल्नेछ । तेस्रो चरणको छनोटबाट हरेक समूहको शीर्ष टोली एसियन कपमा छनोट हुनेछ । त्यस्तै, उत्कृष्ट ५ दोस्रो हुने टोलीले पनि सन् २०२३ मा हुने मुख्य प्रतियोगितामा स्थान बनाउनेछन् ।
छिमेकी देशको लगातार जित

एएफसी एसियन कप २०२३ को छनोटमा नेपालले लगातार दोस्रो हार व्यहोरिरहँदा छिमेकी देश भारतले लगातार दोस्रो जित निकालेको छ । भारतले चिरपरिचित प्रतिद्वन्द्वी अफगानिस्तानलाई २–१ ले हराएको थियो । समूह ‘डी’ मा रहेको भारतले पहिलो खेलमा कम्बोडियालाई हराएको थियो । उक्त समूहमा हङकङ र भारतले दुई दुई जित हासिल गरेका छन् । दक्षिण एसियामा विगतमा उत्कृष्ट भएको टोली अफगानिस्तानले भने लगातार दुई हार बेहोरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्