क्रोएसियाद्वारा डेनमार्क पराजित



लन्डन । 

क्रोएसियाले यूईएफए नेसन्स लिगको ग्रुप १ मा डेनमार्कलाई पराजित गरेको छ ।मिडफिल्डर मारियो पासालिसको गोलमा क्रोएसियाले डेनमार्कलाई १–० गोलअन्तरले पराजित गरेको हो । पार्केन कोपेनहेगनमा शुक्रबार राति भएको खेलमा घरेलु टोलीलाई हराउन दोस्रो हाफमा मारियो पासालिसले गरेको गोल नै निर्णायक बन्यो । प्रतिस्पर्धात्मक बनेको खेलमा उनले ६९औं मिनेटमा गोल गरेका थिए ।

खेलको ८७औं मिनेटमा घरेलु टोलीका जोनास वाइन्डले गोल गरे पनि अफसाइड ठहरिँदा गोलले मान्यता पाएन । त्यसपछि थप गोल निस्कन नसक्दा क्रोएसिया विजयी हुन सफल भयो । यो जितसँगै क्रोएसिया तीन खेलबाट चार अंक जोडेर तेस्रो स्थानमा रहेको छ । समान चार अंक नै रहे पनि अस्ट्रिया दोस्रो स्थानमा रहेको छ । पराजित डेनमार्क ६ अंक जोडेर शीर्षस्थानमा रहँदा फ्रान्स दुई अंक जोेडेर पुछारमा छ ।

शुक्रबार राति नै भएको यही समूहको अर्काे खेलमा अस्ट्रिया र फ्रान्सले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे । अस्ट्रियाका एन्ड्रिएस वेइमानले गोल गर्दा फ्रान्सका क्लियन एमबाप्पेले बराबरी गोल फर्काए थिए । परिवर्तित खेलाडीको रूपमा मैदान छिरेका युवा स्टार क्लियन एमबाप्पेको गोलमा फ्रान्स यूईएफए नेसन्स लिग ‘ए’ ग्रुप १ मा हारबाट जोगिएको हो । खेलको ३७औं मिनेटमा एन्ड्रिएस वेइमानले गोल गर्दै घरेलु टोलीलाई शुरुवाती अग्रता दिलाएका थिए । उनले कोनराड लेइमेरको पासमा गोल गर्न सफल भएका थिए । तर, त्यो अग्रतालाई अस्ट्रियाले अन्तिमसम्म बचाउन सकेन ।

खेलको ८३औं मिनेटमा परिवर्तित खेलाडी एमबाप्पेले गोल गर्दै फ्रान्सलाई हारबाट जोगाए । ६३औं मिनेटमा एन्टोइन ग्रिजमनको स्थानमा मैदान छिरेका एमबाप्पेले अर्का परिवर्तित खेलाडी क्रिस्टोफोर एनकुुकुको पासमा गोल गर्न सफल भएका थिए । एनकुकु ७९औं मिनेटमा किङ्सले कोमानको स्थानमा मैदान छिरेका थिए । यो बराबरीसँगै अस्ट्रिया दुई खेलबाट ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । डिफेन्डिङ च्याम्पियनसमेत रहेको फ्रान्सले भने कमजोर शुरुवात गर्दा तीन खेलबाट दुई अंक मात्रै जोड्न सकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्