टर्कीको सानदार जित



लन्डन, (एजेन्सी) ।  

टर्कीले यूईएफए नेसन्स लिग सी ग्रुप १ मा सानदार जित दर्ता गरेको छ । टर्कीले लिथुआनियामाथि ६–० गोलअन्तरको सानदार जित निकालेको हो । लिथुआनियाको मैदानमा टर्कीलाई फराकिलो गोलअन्तरको जित दिलाउन डुगुकान सिनिक र सेरदर डर्सनले समान दुई गोल गर्दा युनुस एकगन र हालिल डर्भिसोग्लुले समान एक–एक गोल थपे । टर्कीले पहिलो हाफमा दुई तथा दोस्रो हाफमा चार गोल गरेको थियो ।

भिल्निअस लिथुआनियामा मंगलबार राति भएको एकपक्षीय बनेको खेलको दोस्रो मिनेटमा डुगुकान सिनिकले गोल गर्दै टर्कीको गोलको खाता खोलेको थियो । १४औं मिनेटमा डुगुकान सिनिकले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गरेपछि टर्की पहिलो हाफमा २–० ले अघि बढेको थियो ।खेलको ५६औं मिनेटमा सेरदर डर्सनले पेनाल्टीमार्फत गोल गरेपछि टर्की खेलमा ३–० ले अघि रह्यो । त्यसपछि खेलको अन्तिम १० मिनेटमा टर्कीले तीन गोल थप्दै फराकिलो जित पक्का ग¥यो । ८१औं मिनेटमा सेरदर डर्सनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरेपछि टर्की फराकिलो जिततर्फ अग्रसर बन्यो ।

८९औं मिनेटमा युनुस एकगनले गोल गरेपछि टर्की खेलमा ५–० ले अघि बढ्यो । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा हालिल डर्भिसोग्लुले गोल गर्दै टोलीलाई ६–० को सानदार जित दिलाए । टर्कीको यो लगातार दोस्रो जित हो । लगातार दोस्रो जितसँगै टर्की ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । समान ६ अंक नै रहेपनि लक्जेमवर्ग गोलअन्तरमा दोस्रो स्थानमा रहेको छ । पराजित लिथुआनिया अंकविहीन हुँदै पुछारमा छ । फारोई आइल्यान्डले पनि अंकको खाता खोल्न सकेको छैन ।यही समूहको अर्काे खेलमा लक्जेमवर्गले फारोई आइल्यान्डलाई १–० ले पराजित गर्दै लगातार दोस्रो जित निकाल्यो । नौ खेलाडीमा समेटिएको फारोई आइल्यान्डविरुद्ध लक्जेमवर्गको जितमा जर्सन रोड्रिग्वेजले ७४औं मिनेटमा पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो । फारोई आइल्यान्ड ६८औं मिनेटमा १० खेलाडीमा तथा ८०औं मिनेटमा ९ खेलाडीमा समेटिन पुगेको थियो ।

त्यस्तै, युरो च्याम्पियन इटालीले पनि यूईएफए नेसन्स लिग ‘ए’ ग्रुप ३ को खेलमा पहिलो जित निकाल्यो । इटालीले हंगेरीलाई २–१ ले पराजित गरेको हो । ओरोगेल स्टेडियम डिनो मानुजी सिसेना इटालीमा मंगलबार राति भएको खेलमा घरेलु टोलीको जितमा निकोलो बरेल्ला र लोरेन्जो पलिग्रेनीले गोल गरेका थिए । हंगेरीले उपहार गोल पाएको थियो ।खेलको ३०औं मिनेटमा निकोलो बरेल्लाको गोलबाट इटालीले सुरुवाती अग्रता लिएको थियो । उनले लियोनार्दाे स्पिनाजोलाको पासमा गोल गर्न सफल भएका थिए ।

४५औं मिनेटमा लोरेन्जो पेलिग्रेनीले गोल गर्दै इटालीको अग्रता दोब्बर पारे । उनले माटियो पोलिटानोको पासमा गोल गर्न सफल भएका थिए । खेलको ६१औं मिनेटमा जियानलुका मान्सिनीले आत्मघाती गोल गरेपछि हंगेरी खेलमा फर्कने संकेत देखिएको थियो । तर, त्यसपछि थप गोल निस्कन नसक्दा इटाली विजयी हुन सफल भयो । पहिलो जितसँगै इटाली दुई खेलबाट चार अंक जोडेर समूहको शीर्षस्थानमा उक्लिएको छ । पहिलो हार बेहोरेको हंगेरी तीन अंक जोडेर दोस्रो स्थानमा रहेको छ । जर्मनीको दुई तथा इंग्ल्यान्डको एक अंक छ ।

प्रतिक्रिया दिनुहोस्